विराटनगर- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राजनीतिमा 'परिवारवाद' लादेको आरोप लाग्दै आएको छ। पुत्र प्रकाश र पुत्री रेणुप्रति उनको मोहलाई लिएर पार्टीभित्रकै कार्यकर्ताले समेत नकारात्मक टिप्पणी गर्दै आएका छन्।
उनै प्रचण्डका कान्छा ज्वाइँ जीवन आचार्य यतिबेला आसन्न निर्वाचनका लागि उम्मेदवार बनेका छन्।
सूचना–प्रविधिमा दख्खल राख्ने आचार्य मोरङको क्षेत्र नम्बर-६ अन्तर्गत प्रदेशसभाको 'क' बाट वामगठबन्धनको संयुक्त उम्मेदवार हुन्। माओवादी केन्द्रतर्फबाट उम्मेदवार ३१ वर्षीय आचार्य यतिबेला चुनावी अभियानमा व्यस्त छन्। उनीमाथि जितको मात्र चुनौती छैन, चुनौती पार्टी अध्यक्ष प्रचण्डको नामको पनि छ।
नाताले अध्यक्ष प्रचण्डको कान्छी छोरीज्वाइँ आचार्यलाई 'पहिलो गाँसमै ढुंगा' लागिसकेको छ। उनको उम्मेदवारीलाई लिएर राष्ट्रियस्तरमै नकारात्मक चर्चा भइरहेको छ।
स्थानीय कार्यकर्तामा सुरुआती चरणमा चरम असन्तुष्टि देखिएको थियो। जसलाई उनी राजनीतिको हिस्सा मान्छन्। भन्छन्, ‘मेरो उम्मेदवारीसँगै केही व्यक्ति असन्तुष्ट हुनु स्वाभाविक नै हो। यसलाई अन्यथा लिएको छैन। म पनि पार्टीको जिम्मेवार कार्यकर्ता हुँ।’
जिल्ला र क्षेत्रले आफूलाई सिफारिस गरेपछि अघि सरेको उनी बताउँछन्। पार्टीले पत्याए पनि अब उनको अगाडि जनताले पत्याउँछन् कि पत्याउँदैनन्, त्यसका लागि चुनावपछिको मतपरिणाममा निर्भर रहने नै छ।तर, उनी आफूलाई जनताले पत्याउने कुरामा ढुक्क भएको दाबी गर्छन्।
मोरङ क्षेत्र नम्बर-६ स्थित हात्तीमुढानिवासी आचार्यले सुनसरीको दुहबी स्कुलबाट विद्यालयस्तरीय अध्ययन पूरा गरेका हुन्। विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसबाट आइकम पास गरेपछि उनी उच्च शिक्षाका लागि काठमाडौं लागेका थिए। त्यसैले उनी आफूलाई टुरिस्ट उम्मेदवार भन्नेलाई दह्रो जवाफ दिन लालायित छन्।
‘दुई-चार वर्ष काठमाडौंमा अध्ययनका लागि जाँदैमा मेरो सर्वस्व उतैको हुन्छ र? के हामी उच्च शिक्षाका लागि बाहिर जादैँनौ?' उनीसँग प्रश्नका तीरैतीर छन्। आफ्नो उम्मेदवारीलाई लिएर निकटका केही साथीहरुले नकारात्मक कुरा फैलाएकोमा उनलाई दु:ख लागेको छ।
'राजनीतिमा अध्यक्ष प्रचण्डको नातेदार भएर भएर आएको होइन, मलाई यो रुपमा जोडिन खोजियो भने अन्याय हुनेछ,' आरोपबारे प्रस्ट्याउँदै उनले भने, 'टिकट मलाई मेरो जन्मभूमिका जनताले दिएका हुन्। उनीहरुको आशा र विश्वासले म अघि बढेको छु।’
अर्थशास्त्रमा स्नातकोत्तर गरेका आचार्य हाल माओवादी केन्द्रको बुद्धिजीवी संगठनको केन्द्रीय सदस्य पनि हुन्।
विराटनगर-४ निवासी उनीसँग प्रचण्डकी कान्छी छोरीले दोस्रो विवाह गरेकी हुन्। यसअघि कान्छी छोरीको विवाह भारतको पश्चिम बंगालस्थित सिलगढी सहरका नारायण प्रधानसँग भएको थियो। चार वर्षअघि सम्बन्ध विच्छेद भएपछि उनी आचार्यसँग जोडिन आइपुगिन्।
उनको क्षेत्रबाट नेपाली कांग्रेसका चुमनारायण तवदारको उम्मेदवारी छ। करिब ६७ हजार १ सय ९७ मतदाताको संख्या रहेको यस क्षेत्र सुन्दर हरैंचाको ६ वटा वडा, बुढीगंगा गाउँपालिकाको ७ वडा र विराटनगर महानगरपालिकाको वडा नम्बर ४ लाई समेटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।