काठमाडौं- नेपालमै पहिलो पटक गरिएको राष्ट्रिय अर्थव्यवस्था जनगणना (आर्थिक गणना) को प्रतिवेदन तयार भएको छ।
केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय अर्थव्यवस्था जनगणनाको प्रारम्भिक प्रतिवेदन तयार भई सार्वजनिक गर्ने तयारी गरेको ह।
अर्थव्यवस्था जनगणना भनेको कुनै पनि देशको आर्थिक अवस्था र प्रतिष्ठानले दिएको रोजगारीबाट सृजना भएको आर्थिक आधार जनगणना गर्ने विधि हो। यसअघि नेपालको अर्थव्यवस्था बारे कुनै पनि जनगणना भएको थिएन।
राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलले बुधबार बसेको अर्थ समितिको बैठकमा तथ्याङ्क विभागले तयार पारेको अर्थव्यवस्था जनगणनाको अन्तिम प्रतिवेदन केही दिनभित्रै सार्वजनिक गरिने बताए।
फुयालकाअनुसार मुलुकको रोजगारीको अवस्था र अब आवश्यक पर्ने श्रमिकको संख्याबारे अध्ययन गरीएको नेपाल श्रम शक्ति सर्वेक्षण प्रतिवेदन र नेपालको जीवित मानक तथ्याङ्कबारे अध्ययन गरिएको प्रतिवेदन पनि सार्वजनिक गर्ने तयारी भईरहेको छ।
यस्तै, विभागले राष्ट्रिय जनगणना २०७८ को प्रकिया सुरु भइसकेको जनाएको छ। विभागले आर्थिक बर्ष २०७९/७० मा जनगणना नतिजा सार्वजनिक गर्ने गरी तयारी सुरु गरेको हो।
विभागका महानिर्देशक सुमनराज अर्यालले बाह्रौं जनगणनाका लागि चालु आर्थिक वर्षदेखि नै प्रकिया सुरु गरिने जानकारी दिए।
अर्यालका अनुसार आगामी आर्थिक वर्षमा जनशक्ति र अन्य स्रोत प्रक्षेपण, स्थानीय तहको गणना नक्सा तयारी, निर्देशिका तथा मापदण्ड, प्रश्नावली, बजेट व्यवस्थापनको कार्य सम्पन्न हुनेछ।
दोस्रो बर्ष जनगणनाको नमुना सर्बेक्षण सञ्चालन र जनगणना सामग्री छपाई लगायत कार्य हुनेछन्।
त्यसैगरी, तेस्रो वर्षदेखि प्रदेश तथा जिल्ला र स्थानीय तहमा कार्यालय स्थापना गरेर गणनाको मुख्य कार्य सञ्चालन गर्ने र आर्थिक वर्ष २०७९/८० को भदौ महिना भित्र जनगणनाको तथ्याङ्क सार्वजनिक गर्ने विभागको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।