काठमाडौ- नेकपा माओवादी केन्द्रले पार्टी नीतिविपरीत प्रतिनिधिसभा र प्रदेससभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका र समर्थक बसेका नेता-कार्यकर्तालई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयले प्रदेश नं ६ लाई परिपत्र गर्दै वाम गठबन्धनको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराएका पोलिटब्युरो सदस्यत्रय उमाकान्त शर्मा, छक्कबहादुर लामा र भीमप्रकाश शर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो।
तीनै जनाले वाम गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराएको र फिर्ता लिन आग्रह गर्दासमेत अटेर गरेको हुँदा कारबाही गरेको माओवादी केन्द्रले जनाएको छ।
सल्यानमा वाम गठबन्धनले टेकबहादुर बस्नेतलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ भने प्रदेशसभा सदस्यका लागि नेकपा (एमाले) का नेता प्रकाश ज्वाला उम्मेदवार छन्। यस्तै हुम्लामा आधिकारिक उम्मेदवारविरुद्ध लामाले उम्मेदवारी दर्ता गराएका छन्।
माओवादी केन्द्रले महाधिवेशन आयोजक समिति सदस्य जितबहादुर पुन, सल्यानका स्थानीय नेता प्रमोद श्रेष्ठ, शालिकराम भट्टराई, सेतीराम ओली, हरिलाल डिसी, टंक ढकाल र कीर्तिबहादुर रानालाई पनि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।