काठमाडौं- सरकारले नेपाल भ्रमण वर्ष-२०२० अभियानका सफल पार्न सबै सरकारी कार्यालयका वेवसाइटमा यसका नारा र लोगो राख्न अनुरोध गर्ने निर्णय गरेको छ। सबै सरकारी वेवसाइटमा वि.सं. २०७६ र वि.सं. २०७७ भर नेपाल भ्रमण वर्ष-२०२० को नारा सहितको लोगो राख्न अनुरोध गरेको हो।
नेपाल भ्रमण वर्ष-२०२० मूल आयोजक समितिका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार सिंहदरबारमा बसेको बैठकले अभियानको बजेट स्वीकृत गर्दै यस्तो निर्णय गरेको हो। सो बैठकले लागि चालू आव २०७५/०७६ को बजेट तथा कार्यक्रम पनि स्वीकृत गरेको छ।
चालू आवका लागि स्वीकृत बजेट तथा कार्यक्रममा आवश्यकताअनुसार स्वीकृत शीर्षकमा १० प्रतिशतसम्म रकमान्तर गर्न राष्ट्रिय कार्यक्रम संयोजकलार्इ अख्तियारी दिँदै अभियानको बजेट तथा कार्यक्रम स्वीकृत गरेको हो।
भ्रमण वर्ष उत्साहका साथ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गराउने सन्दर्भमा प्रदेश सरकार तथा स्थानीय तहहरुमा समेत प्रचारप्रसारका कार्यक्रम गराउनेसमेत भएको छ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवले भ्रमण वर्ष सफल बनाउन नीतिगत सुधार एवं पूर्वाधार विकास अपरिहार्य देखिएको बताएका थिए।
बैठकमा पर्यटन क्षेत्रका व्यवसायी, उद्योग वाणिज्य महासंघका अध्यक्ष, गैर-आवासीय नेपाली संघलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि उपस्थित रहेका थिए।
भ्रमण वर्षमा कम्तिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।