काठमाडौं- निर्माता अर्जुन कुमारले समीक्षकहरूबाट तीव्र आलोचना खेपेको 'फाटेको जुता'को सिक्वेल निमाण गर्ने घोषणा गरेका छन्।
फिल्मको व्यापारिक सफलताको पार्टीमा सञ्चारकर्मीमाझ उनले सिक्वेलको घोषणा गरे। बैसाख १ गते रिलिज मिति तोक्दै अर्जुनले फिल्म चाँडै फ्लोरमा जाने बताए। फाटेको जुत्ताले एक सातामा करिब दुई करोड ग्रस कमाइ गरेको उनले दाबी गरे।
‘दर्शकको मायाका कारण यसको दोस्रो भाग बनाउन लागेको हुँ। सिंगल र मल्टिप्लेक्समा अझै पनि फिल्मको व्यापार राम्रो छ,’ उनले भने।
‘फाटेको जुत्ता २’ मा निकेश खड्का नै निर्देशकका रूपमा दोहोरिने अर्जुनले कार्यक्रममा जानकारी दिए।
‘सौगात मल्लसहित ‘फाटेको जुत्ता’मा अभिनय गर्ने प्राय: सबै कलाकारले नै अर्को शृंखलामा पनि अभिनय गर्नुहुनेछ। अभिनेत्रीको टुंगो भने हामी चाँडै लगाउनेछौ’, अर्जुनले फिल्मका बारेमा थप भने।
सौगात मल्लले ‘फाटेको जुत्ता २’ मा पनि अनुबन्धित हुन पाउँदा खुसी लागेको बताए। उनले भने, ‘म आफूले पाएको भूमिकालाई न्यायपूर्वक निर्वाह गर्ने कोसिस गर्छु। 'फाटेको जुत्ता'को सफलतापछि यसको दोस्रो भागमा पनि म जोडिन पाउनु निकै खुसीको कुरा हो ।’
अर्जुनले नयाँ फिल्मको घोषणा गर्दै 'अर्जुन कुमार फिल्मस्'बाट अब नेपाली फिल्म वितरण गर्ने पनि जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।