काठमाडौं- शुक्रबार नेपाली बक्सअफिसमा कुनै विदेशी फिल्म रिलिज हुनेछैनन्। जसका कारण चार नेपाली फिल्मले नै एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्। मेला, रोमियो, तान्द्रो र सकस आज एकसाथ रिलिज भए।
तान्द्रो: निर्माण भएको करिब चार वर्षपछि रिलिज भएको फिल्ममा दयाहाङ राईको मुख्य अभिनय छ। २०६० सालमा माओवादीको सांस्कृतिक समूहमाथि सेनाले आक्रमण गर्दा खुट्टामा गोली लागेका माओवादी कार्यकर्ताको संघर्षको कथा फिल्मले देखाउँछ। रिलिज भएका चार फिल्ममध्ये फरक फिल्ममाथि समीक्षकहरूको विशेष नजर छ। फिल्मका निर्देशक सामतेन भुटिया हुन्।
मेला: युवा प्रेमकथामा आधारित फिल्ममा आशिष्मा नकर्मी, सलोन बस्नेतको अभिनय रहेको। बसन्त निरौला निर्देशित फिल्मले ती युवयुवतीको त्रिकोणात्मक कथा पेश गर्छ। हरि पन्तको कथा रहेको फिल्ममा वसन्त पोखरेलको संगीत तथा दिव्य सुवेदीको छायांकन रहेको छ।
रोमियो: निशा अधिकारी, हसन रजा खान तथा ओसिमा बानुको मुख्य भूमिका रहेको फिल्मले पनि त्रिकोणात्मक कथा भन्छ। फिल्मलाई शंकर कार्कीले निर्देशन गरेका हुन्। किरण माइकल घिमिरेको कथा रहेको फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका हुन्। फिल्मबाट ओसिमा पहिलो नेपाली मुस्लिम नायिका बन्दैछिन्।
सकस: काठमाडौंमा डनहरू कसरी जन्मन्छन् भन्ने सेरोफेरोमा आधारित फिल्म ग्याङ्स्टार कथामा आधारित छ। फिल्ममा सुन्दर श्रेष्ठ, प्रज्वल गिरी, सुनिल दत्तको मुख्य भूमिका रहेको छ। एनबी महर्जनको निर्देशन, मौनता श्रेष्ठको लेखन रहेको फिल्ममा चेतन सापकोटाको संगीत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।