काठमाडौं- राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि करिब साढे १७ खर्ब रुपैयाँ बराबरको सिलिङ तयार पारेको छ।
आयोग श्रोतका अनुसार १५औं पञ्चवर्षीय आवधिक योजना कार्यान्वयनको पहिलो वर्षका रुपमा आगामी आर्थिक वर्षका लागि उक्त रकम बराबरको बजेट सिलिङ तयार पारिएको हो।
चालु आर्थिक वर्षका लागि सरकारले १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो।
वित्तीय समानीकरण र सशर्त अनुदान समेत जोड्दा करिब १५ खर्ब रुपैयाँ बराबरको बजेट चालु आर्थिक वर्षका लागि विनियोजन हुने देखिन्छ।
यस अर्थमा आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा करिब साढे २ खर्ब रुपैयाँ बढी बजेट ल्याउने तयारी गरिएको हो।
योजना आयोगको सिलिङसँगै सरोकारवाला निकायले छलफलमा तीव्रता दिएका छन्।
साथै अर्थमन्त्री डा. युवराज खतिवडाले पनि नेकपाको चुनावी घोषणापत्रमा उल्लेख गरिएका विषयहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा पार्टीका शीर्ष नेतासँग छलफल सुरु गरेका छन्।
चालु आर्थिक वर्षको बजेट विनियोजनको तयारी गर्दा घोषणापत्रभन्दा बाहिर गएको भन्दै यसको नेकपाका नेताहरुबाटै अर्थमन्त्री खतिवडाको विरोध भएको थियो।
तर खतिवडाले आगामी आर्थिक वर्षको बजेट छलफल सुरु भएसँगै पार्टीभित्रबाट आउने विरोधी आवाजलाई मत्थर पार्ने रणनीतिसमेत रचेका छन्।
कर्मचारीको तलबभत्ता बढाउने, सत्तासिन दल नेकपाले आफ्नो घोषणापत्रमा राखेको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने तथा साबिकको भत्तादरलाई बढाउने र राष्ट्रिय गौरवका आयोजनालाई बजेटमा प्राथमिकतामा राखिएको श्रोतको भनाइ छ। कर्मचारीको तलब वृद्धि र सामाजिक सुरक्षाभत्ताका लागि ठुलो दायित्व सिर्जना हुने भएका कारण पनि बजेटको आकार बढ्न सक्ने देखिन्छ।
बजेटको आकार बढेसँगै त्यसका लागि आवश्यक श्रोत कसरी जुटाउन भनेर अर्थ मन्त्रालयमा पनि ठुलै खैलाबैला सुरु भएको श्रोत बताउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।