काठमाडौं- बागलुङको गल्कोट क्षेत्रमा निर्माण गरिने साढे ७ मेगावाट क्षमताका २ वटा जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) भएको छ।
ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा अवस्थित मध्य दरम खोलाबाट विद्युत उत्पादन तथा वितरण गर्ने गरी नेपाल विद्युत प्राधिकरण र धौलागिरी सिभिल इलेक्ट्रिकल मेकानिकल इन्जियनियरिङ (धवलागिरी सेम) प्रालि बागलुङबीच मंगलबार विद्युत खरिद बिक्रीसम्बन्धी सम्झौताा (पिपिए) भएको हो।
धौलागिरी सेम प्रालिद्धारा प्रवर्द्धित मध्य दरमखोला 'ए' साना जलविद्युत आयोजना (३ मेगावाट) र मध्य दरमखोला 'बी' साना जलविद्युत आयोजना (४.५ मेगावाट) र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्झौता भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। सम्झौता पत्रमा नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र धौलागिरी सेम प्रालिका अध्यक्ष हरिनारायण गौतमले हस्त्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार प्रवर्द्धक कम्पनी धौलागिरी सेम प्रालिले दुवै आयोजनाबाट २०७८ जेठ ३१ सम्ममा विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणको हरिचौर सबस्टेसनमा जडान गरिने छ। मध्य दरमखोला 'ए' (३ मेगावाट) को व्यापारिक विद्युत उत्पादन मिति २०७७ चैत ३१ र मध्य दरमखोला 'बी' (४.५ मेगावाट) को विद्युत उत्पादन मिति २०७८ जेठ ३१ लाई ताेकिएकाे छ। दुवै आयोजना स्थानीय लगानी र प्रभु बैंकको ऋण सहयोगमा समपन्न गरिने छ। दुवै आयोजनाको पिपिए 'टेक अर पे'को नीतिमा गरिएको अध्यक्ष गौतमले बताए।
दुवै आयोजनाबाट उत्पादित विद्युतलाई नेपाल विद्युत प्राधिकरणले सुख्खायाम (पौषदेखि चैतसम्म)मा प्रति युनिट ८ रुपैयाँ ४० पैसादेखि १० रुपैयाँ ४२ पैसामा खरिद गर्नेछ। वर्षायाम (बैसाखदेखि मंसिरसम्म) मा प्रति युनिट ४ रुपैयाँ ८० पैसादेखि ५ रुपैयाँ ९५ पैसासम्ममा खरिद गर्नेछ। दुवै आयोजनाबाट बार्षिक ४ करोड ४५ लाख १३ हजार २ सय ६९ युनिट विद्युत उत्पादन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।