काठमाडौं– ठुला करदाता कार्यालयले अर्घाखाँची सिमेन्टसहित ठुला ६ कम्पनीले सरकारलाई बुझाउँदै आएको कर र कारोबारबारे अनुसन्धान सुरु गरेको छ।
ठुला करदाता कार्यालयले ३ वटा बियर तथा रक्सी उत्पादन कम्पनी, एक अस्पताल, एक सिमेन्ट उद्योग र एक एसी जडान गर्ने कम्पनी गरी ६ कम्पनीले तिर्दै आएको करका विषयमा पनि अनुसन्धान थालेको जनाएको हो।
ठूला करदाता कार्यालय स्रोतका अनुसार नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाको अर्घाखाँची सिमेन्टको कारोबार र करका विषयमा अनुसन्धान सुरु भएको हो।
अर्घाखाँची सिमेन्टको कारोबार रकम र सरकारलाई तिर्दै आएको आयकर तथा भ्याट रकममा गडबडी देखिएको भन्दै कार्यालयले अनुसन्धान थालेको स्रोतले जानकारी दियो।
‘अर्घाखाँची सिमेन्टले विभिन्न समयमा ल्याइरहेको अफर योजनाबाट सबैभन्दा ठुलो गडबढी गरेको देखिएको छ,' स्रोतले भन्यो, ‘अर्घाखाँची सिमेन्टको सत्यतथ्य केही महिनाभित्रै बाहिर आउँछ। प्रारम्भिक अध्ययनमै गडबढ देखिएको छ।’
यसैगरी ठुला करदाता कार्यालयका अनुसार दुई वटा बियर उत्पादन कम्पनीले समेत कर रकममा गडबढी गरेको फेला पारेको छ। ‘बियर उत्पादन कम्पनीले कारोबार रकम तथा कर तिर्दा गरेको गडबडीको लगभग फाइनल भइसकेको छ,' स्रोतले भन्यो, ‘दुई बियर कम्पनीले गरेको गल्ती केही दिनभित्रै सार्वजनिक हुन्छ।’
यसका साथै एउटा रक्सी कम्पानीले तिरेको कर र कारोबार रकममा केही शंका उत्पन्न भएकाले अनुसन्धान सुरु भएको कार्यालयको दाबी छ।
यसैगरी कार्यालयले काठमाडौंमै सञ्चालनमा रहेको चर्चित तथा पुरानो एउटा अस्पतालको कर तथा कारोबार रकमा समेत गडबडी भएको भन्दै अनुसन्धान थालेको जानकारी दिएको छ।
यी बाहेक पनि एउटा एसी जडान गर्ने कम्पनीमाथि पनि छानबिन सुरु भएको कार्यालयको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।