काठमाडौं- बराह नगरपालिका २ सुनसरी घर भई ६ वर्षअघि रोजगारीका लागि साउदी पुगेका भुपाल बस्नेत ३ वर्ष बन्दी जीवन बिताएर नेपाल फर्कने भएका छन्। मे २०१६ देखि साउदीको बुरैदा अल कासिम जेलमा बन्दी जीवन बिताइरहेका बस्नेतका लागि आवश्यक ब्लडमनी बुझाएपछि अदालतले जेलमुक्त भएको फैसलासँगे उनी नेपाल फर्कने भएका हुन्।
बस्नेत साउदीको अल महमिद कम्पनीमा ट्रक चालकको रुपमा कार्यरत थिए। ट्रक चलाइरहेका बस्नेतले सडकको साइडमा पार्किङ गरिराखेको अवस्थामा पछाडिबाट साउदी नागरिकको कार ठोक्किन आएको थियो। कार चालक साउदी नागरिकको त्यही बेला मृत्यु भएपछि बस्नेत जेल परेका हुन्।
मृतक परिवार र सहयोगीहरुले ब्लडमनी जुटाएपछि उनी जेलमुक्त हुन पाउने भएका थिए।
बस्नेतले ब्लडमनी बराबर ७५ हजार ३ सय साउदी रियाल अर्थात् २२ लाख ११ हजार रुपैयाँ तिर्नुपर्ने फैसला सुनाइएको थियो। बस्नेतलाई जेलमुक्त गर्न भुपाल बस्नेत बचाउ अभियान सुरु गरिएको थियो।
बस्नेत गत चैत १८ गते जेल मुक्त भएको गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल कासिमले जानकारी दिएको छ।
बस्नेत बुधबार मध्याह्न १२ बजे नेपाल फर्कने प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) का अध्यक्ष कुलप्रसाद कार्कीले नेपाल लाइभलाई जानकारी दिए।
गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल कासिमले उनको उद्धारका लागि ८ हजार ३१ साउदी रियाल, गन्तव्य नेपालको पहलमा ७ हजार ३ साउदी रियाल र नेपाली प्रवासी समाज हाइलको पहलमा १ हजार ५१ साउदी रियाल सहयोग गरिएको थियो। बाँकी रकमको लागि नेपालमा रहेको परोपकारी, सामाजिक संस्था, प्रवासी नेपाली समन्वय समितl (पिएनसिसी) ले जिम्मेवारी लिएको थियो।
पिएनसीसीले अपुग रकम विभिन्न संस्थासितको समन्वयमा कुमार राना उद्धार समितिबाट ११ लाख ३० हजार ९ सय ६३ रुपैयाँ, गैरआवासीय नेपाली संघ (आइसिसी) कल्याणकारी कोषबाट २ लाख ३० हजार, प्रेम राई उद्धारबाट बचेको रकमबाट २ लाख, सुनसरी मोरङ समाज कतारबाट २ लाख २६ हजार र बराह समाज सुनसरीबाट ११ हजार १ सय ११ रुपैयाँ संकलन गरिएको पिएनसिसीले जनाएको छ।
साउदीस्थित नेपाली दूतावासले गत १ अप्रिल २०१८ मा अल कासिम अदालतमा आवश्यक रकम बुझाएसँगै बस्नेतको रिहाइ गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।