बेइजिङ- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाको समस्या चाँडै समाधान गर्न चीनलाई आग्रह गरेका छन्।
हाल चीनको भ्रमणमा रहेका उनले चिनियाँ राष्ट्रपति सि जिनपिङलाई सो अग्रह गरेका हुन्। 'चीनले उत्तर कोरियाको समस्या समाधानका लागि जतिसक्दो चाँडै अग्रसरता लिओस् र कडा मेहनतका साथ काम गरोस् भन्ने अमेरिका चाहन्छ,' ट्रम्पले भने, 'समय छिटोछिटो अघि बढिरहेको छ. तर उत्तर कोरिया भने आणविक संकट झन् चर्काउँदै छ, त्यसैले समाधानको बाटो पनि चाँडै खोजिनुपर्दछ।'
बेइजिङमा चीनका व्यापारिक प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै उनले चीनलाई सो आग्रह गरेका हुन्। उनी बुधबार चीन पुगेका हुन्।
राष्ट्रपति ट्रम्प आज विभिन्न मञ्चलाई सम्बोधन गर्दैछन्। उनले चीनका नेता तथा उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
एसिया भ्रमणका क्रममा रहेका ट्रम्प प्राय: उत्तर कोरियाका विरुद्धमा निकै आक्रामक बन्दै आएका छन्। बुधबार मात्र दक्षिण कोरियाली संसदलाई सम्बोधन गर्दै उनले उत्तर कोरियालाई क्रुर एवम् तानाशाहको संज्ञा दिएका थिए।
उत्तर कोरियालाई एक्लो बनाउन विश्वका सबै देशलाई उनले आग्रह पनि गरेका छन्।
यसैबीच चिनियाँ राष्ट्रपति सि जिनपिङले कोरियाली प्रायद्वीप र अफगानिस्तानको मुद्दामा चीनले अमेरिकासँग समन्वय गर्ने बताएका छन्।
उत्तर कोरियाका विषयमा विश्वका दुई प्रमुख शक्तिराष्ट्र अमेरिका र चीनले गरेको यस वार्तालाई विश्वमा निकै चासोपूर्ण रुपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।