काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडा र नेपालका लागि फ्रान्सका राजदूत तथा लगानीकर्ताबीच भेटवार्ता भएको छ।
आज नेपाल उद्योग वाणिज्य महासंघको पहलमा नेपाली र फ्रेन्च उद्यमी व्यवसायीहरू बीच नेपालमा संयुक्त सहकार्यका सम्भाव्यता खोजी गर्ने सम्बन्धमा महासंघ सचिवालयमा अर्थमन्त्री खतिवडा र फ्रान्सेली प्रतिनिधिबीच भेटवार्ता भएको हो।
नेपाल भ्रमणमा आएको फ्रान्सेली कम्पनीका लगानीकर्ता, उद्यमी व्यवसायीहरूसँग भएको व्यवसायिक भेटवार्तामा नेपाली उद्यमी व्यवसायीहरूले सहकार्यका सम्भाव्य क्षेत्रहरू प्रस्तुत गरेका थिए। त्यस अवसरमा फ्रान्सेली कम्पनीहरूका तर्फबाट जल तथा नवीकरणीय ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, दिगो र स्मार्ट सहरीकरण, कृषि तथा खाद्य प्रशोधन, सहरी यातायात, फोहर व्यवस्थापन लगायतका क्षेत्रमा सहकार्यको सम्भाव्यता प्रस्तुत गरिएको थियो।
नेपाली लगानी सम्मेलनको लगत्तै नेपालस्थित फ्रान्सेली राजदूतावास र राजदूतको विशेष पहलमा महासंघद्वारा आयोजना गरिएको यो कार्यक्रमलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ। व्यावसायिक भेटवार्तामा छिमेकी भारत तथा फ्रान्समा लगानी गरिरहेका १५ वटा प्रतिष्ठित फ्रान्सेली कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको छ।
सोही भेटवार्ता कार्यक्रममा अर्थमन्त्री खतिवडाले नेपाल बाह्य लगानी आकर्षण गर्नमा सबै हिसाबले तयारी अवस्थामा रहेको र नेपालमा लगानीको पूर्ण वातावरण भएकाले निर्धक्क भएर लगानी गर्न फ्रान्सेली कम्पनीहरूलाई आग्रह गरे।
नेपाल र फ्रान्सबीचको दौत्य सम्बन्ध जतिकै मजबुत आर्थिक सम्बन्ध पनि हुनुपर्नेमा उनको जोड थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।