एजेन्सी- साढे दुई दशकपछि अभिनेता नागार्जुना तथा निर्देशक रामगोपाल बर्माले एकअर्कासँग फेरि काम गर्ने भएका छन्।
यसै महिनाको सुरूवातमा बर्माले फिल्मको घोषणा गरेका थिए। सत्यघटनामा आधारित प्रहरीको कथा रहने एक्सन फिल्मलाई लिएर नागार्जुना उत्साहित देखिएका छन्। उनले यस फिल्मले राम गोपाल बर्माको पुरानो साख फर्काउने दाबी गरे।
'जब तीन महिनाअगाडि उनी मेरोमा आए, मैले उनलाई स्पष्टरूपमा आफ्ना दुई फिल्मको काम बिर्सेर मसँग गर्ने भनिएको स्क्रिप्टमा काम गर्न भनेको थिएँ। यही सर्तमा म उनीसँग फिल्म गर्न तयार भएको हुँ', नागार्जुनाले भने, 'त्यसपछि उनले सबै कामलाई छोडेर स्क्रिप्टमा काम गरे, मलाई मनपर्यो अनि मैले हुन्छ भनेँ।'
उनले थपे, 'मेरो विचारमा रामुले धेरै र अनावश्यक काम गरिरहेका थिए। उनी केही वर्षदेखि अलमलिइरहेका थिए। मलाई लाग्छ, यो फिल्मले रामुको पुरानो साख फर्काउनेछ।'
फिल्म यसै महिनाको अन्त्यसम्ममा फ्लोरमा जाने बताइएको छ। उनीहरूले पहिलोपटक 'शिवा' फिल्ममा काम गरेका थिए र त्यो फिल्मलाई दर्शकहरूले खुबै रूचाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।