एजेन्सी- चर्चित हलिउड निर्देशक स्टेभन स्पिलवर्गको साईफाई फिल्म 'रेडी प्लेयर वान' अगामी वर्षको सुरूमा रिलिज हुनेछ। तर त्योभन्दा अगाडि उनी निर्देशित ड्रामा फिल्म 'द पोस्ट' क्रिसमसमा रिलिज हुने पक्का भएको छ। फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यसको रिलिज मिति तय भको हो।
'द पोस्ट' फिल्म अमेरिकी पत्रिका 'वासिङ्टन पोस्ट'सँग सम्बन्धित सत्य घटानामा आधारित छ। फिल्ममा 'वासिङ्टन पोस्ट'का सम्पादक बेन ब्रेड्ली तथा प्रकाशक के ग्राहमले तात्कालीक समयमा भियतनाम युद्धबारे अमेरिकी सरकारले साढे तीन दशकसम्म लुकाएको तथ्य प्रकाशन गर्ने सन्दर्भमा भएको द्वन्द्वको कथा छ।
फिल्ममा सम्पादकको भूमिकामा टम ह्याङ्क्स र प्रकाशकको भूमिकामा मेर्ल स्ट्रिपको अभिनय रहेको छ। ट्वान्टिथ सेन्चुरी फक्सले फिल्मलाई जनवरीमा केही सीमित हलमा रिलिज गर्नेछ भने जनवरी १२ मा विश्वव्यापी रिलिज गर्ने तयारी गरेको छ। फिल्ममा सारा पउलसन, बब ओडेनक्रिक, म्याथ्यू रहेस, ब्रेड्ली ह्वीटफोर्ड आदिको मुख्य अभिनय रहेको छ।
फिल्मलाई थ्रिलर ड्रामा अन्तर्गत राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।