एजेन्सी- टाइगर श्राफको जोडी बनेर पर्दामा आउन पाउनु अभिनेत्री निधि अग्रवालका निम्ति एउटा स्वप्न डेब्यु जस्तै थियो। यद्यपि सबिर खान निर्देशित 'मुन्ना माइकल' बक्सअफिसमा चलेन र निधि स्पटलाइट पाउन असफल रहिन्।
गैर फिल्मी पृष्ठभूमिबाट बलिउडमा पदार्पण गरेकी निधिले अगामी दिनमा फिल्मी बाटो अझ कठिन रहेको ठान्छिन्।
'म एउटी सामान्य केटी हुँ भन्नेमा होसियार थिएँ र कुनै निर्माता निर्देशकहरू मलाई नै फिल्ममा लिन कुरिरहेका थिएनन्। कोही डिजाइनर आफ्नो लुगा दिन मरिहत्ते गरिरहेका छैनन्। मलाई यो पनि थाहा थियो म एक स्टारका छोरासँग काम गर्दै छु, जो पहिले नै चर्चित छ। यस्तोमा मानिसहरूको नजरमा पर्न कठिन नै हुन्छ,' निधिले भनिन्।
मोडलिङ हुँदै फिल्ममा आएकी निधि ठूलो काम गर्ने चाहना बोकेर हिँड्नेहरूका लागि केही पनि सजिलै प्राप्त नहुने बताउँछिन्। उनले डेब्युपछिको बाटो सहज हुने सोचे पनि त्यो विपरीत पाएको बताइन्।
'एउटा फिल्म पाएपछि जीवन राम्रो हुनेछ, सबै भनेजस्तै पूर्ण हुनेछ लाग्थ्यो तर त्यस्तो होइन रहेछ। एउटा फिल्म पाएपछि जतिबेला पनि तनाव, दबाब र धेरै नापतौल हुने रहेछ', उनी आफ्नो अनुभव सुनाउँछिन्।
पहिलो पटक क्यामेराअगाडि उभिँदा अत्तालिने भइयो कि भएन? भन्ने प्रश्नमा निधिले प्राविधिक ज्ञानको कमीले त्यस्तो भएको स्वीकार पनि गरिन्। 'धेरैपटक टेक खाँदा म निर्देशक र सहकर्मी कलाकारसँग माफी माग्थेँ। समय समयमा मलाई सट दिइरहँदा नराम्रो पनि लाग्थ्यो, जब म क्यामेरा तथा सही एंगल पहिल्याउन सक्दिनथेँ,' उनले पहिलो फिल्मको सुटिङको सम्झना गर्दै भनिन्, 'म सिनमा डुबिसक्थेँ जसका कारण म कता हेर्ने भन्ने कुरा नै बिर्सिरहन्थेँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।