काठमाडौं- रोजगारी नपाएको भन्दै नेपाली युवाहरु विदेश उडिरहेका छन्। तर, विभिन्न देशका कामदार नेपाल आएर काम गर्ने क्रम भने बढेको पाइएको छ।
निर्माण, उद्योग लगायतका क्षेत्रमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी कामदारहरु आए पनि अवैध विदेशी कामदारको संख्या झन् ठूलो छ। चालु आर्थिक वर्षको ८ महिनामा मात्रै ५ सय ५२ जना विदेशी कामदारले श्रम स्विकृति नवीकरण गरेका छन्। सोही अवधिमा १६ हजार ४ सय ८९ कामदारले पुनः श्रम स्विकृति लिएको श्रम, रोजगार तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ। फागुनमा मात्रै २६ जना कामदारले श्रम स्वीकृति लिएका थिए।
४ वर्षदेखि नेपालमा भित्रिएका विदेशी कामदारहरुको अवस्था हेर्दा पनि नेपालमा रोजगारीका लागि आउने विदेशी नागरिकको आकर्षण बढेको छ। २०७१ सालदेखि विभागले रोजगारीका लागि विभिन्न मुलुकबाट आउने श्रमिकहरुको तथ्यांक राख्न थालेको थियो। आर्थिक वर्ष २०७१/७२ मा वैधानिक तवरमार्फत श्रम स्वीकृति लिएरै काम गर्ने श्रमिकहरुको संख्या १ हजार ३ सय ३३ थियो।
आर्थिक वर्ष ०७२/७३ मा श्रम स्विकृति लिएर नेपालमा काम गर्ने विदेशीको संख्या केही घटेको जस्तो देखिएको छ। सो वर्ष ५ सय ८४ जनाले श्रम स्वीकृति लिएका थिए। त्यसैवर्ष नेपालका विभिन्न उद्योग, व्यवसाय तथा निर्माण लगायत आयोजनामा काम गरिरहेका ४ सय ३६ जना विदेशी कामदारले श्रम स्विकृति नवीकरण गरेका थिए।
२०७३/७४ मा श्रम स्वीकृति लिनेको आकर्षण बढेको विभागको तथ्यांकले देखाउँछ। १ हजार २ सय ४५ श्रमिकले श्रम स्विकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ। श्रम स्विकृति नवीकरण गर्ने विदेशी कामदारको संख्या अघिल्ला वर्षका तुलनामा बढेको थियो।
२०७४/०७५ मा १ हजार ६ सय ८ जना कामदारले श्रम स्विकृति लिएका छन्। सोही आर्थिक वर्षमा ९ सय ६२ जनाले श्रम नवीकरण गरेर काम गरिरहेको तथ्यांकमा उल्लेख छ।
विभागका पूर्वनिर्देशक ऋषिराम भुसालका अनुसार श्रम स्वीकृति लिएर काम गर्ने विदेशी कामदारभन्दा पनि अवैध रुपमा काम गर्नेहरुको संख्या ठूलो छ। 'श्रम स्विकृति नलिई आइएनजिओ, होटल, रेस्टुरेन्ट लगायत विभिन्न व्यवसाय गरिरहेका विदेशीका संख्या ठूलो छ,' उनी भन्छन्।
यसरी अवैध रुपमा नेपाल आएर रोजगारी तथा व्यवसाय गर्ने विदेशी कामदारको तथ्यांकबारे भने सरकारले कडाइ गरेको देखिन्न।
किन त?
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे भन्छन्, ‘नेपालमा श्रमिककै रुपमा आएर श्रम स्विकृति नलिई काम गर्ने विदेशी कामदार भए मात्र त्यसबारे मन्त्रालयले छानबिन गरी कारबाही प्रक्रिया बढाउन सक्छ। पर्यटकका रुपमा भिजिट भिसामा आएका विदेशी कामदारले विभिन्न पेसा, व्यवसाय तथा रोजगारी गरेर बसेको अवस्थामा हामीले हेरेका छैनौं।’
कुनै विदेशी श्रमिक कामदार भिसामा आउने तर श्रम स्विकृति नलिई अवैध रुपमा काम गरिरहेको जानकारी भए कारबाही गर्ने उनको भनाइ छ।
नेपालमा भिजिट भिसामा आएका कामदार निकै ठूलो संख्यामा विभिन्न पेसा तथा व्यवसाय गरेर बसेका भेटिन्छन्। अवैधानिक रुपमा नेपालमा गैरसरकारी संस्था, होटल व्यवसाय तथा विभिन्न पेसामा संलग्न विदेशीको संख्या बढ्दै गर्दा सरकारले कुनै चासो दिन नसकेको सरोकारवालाहरु बताउँछन्।
नेपालमा पर्याप्त दक्ष जनशक्ति नहुँदा विदेशी कामदार
कृषि तथा वन, विद्युत, ग्यास, पानीको आपूर्ति कार्य, निर्माण, होटल तथा रेस्टुरेन्ट, अस्पताल लगायत व्यवसायजन्य कामका लागि पनि विदेशबाट नेपालमा कामदारहरु आउने गरेको जनाइएको छ। जटिल उपकरण जडान, ठूलाठूला आयोजना निर्माण तथा प्राविधिक कामका लागि ठूलो संख्यामा विदेशी कामदार आपूर्ति गर्नुपर्ने अवस्था रहेको श्रमविज्ञ ऋषिराम भुसालको भनाइ छ।
मेलम्ची खानेपानी आयोजना, कुलेखानी जलविद्युत आयोजना, विभिन्न हाइड्रोपावर, सडक निर्माण, अत्याधुनिक भवन तथा प्रविधि निर्माणका लागि नेपालमा विदेशी कामदार आउने गरेका छन्।
६० भन्दा बढी देशबाट आउँछन् कामदार
रोजगारीका लागि, चीन, भुटान, बंगालादेश, क्यानडा, जापान, नर्वे लगायत ६० वटाभन्दा बढी देशबाट श्रमिकहरु आउने गरेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जानकारी दिएको छ।
भारतबाट अझ धेरै कामदार आउने गरेका छन्। भारतीय कामदारका लागि भने श्रम स्वीकृति लिएर काम गर्नुपर्ने प्रावधान छैन। खुल्ला सिमाना भएकै कारण भारतबाट नेपालमा निकै ठूलो संख्यामा कामदार आउने गरेका हुन्।
घर, सडक तथा पुल निर्माण, व्यवसाय, कृषि, व्यापार, लगायतका पेसा भारतीय आबद्ध छन्। उनीहरुको संख्याबारे कुनै यकिन तथ्यांक पाइँदैन।
नेपालमा काम गर्न लाज मान्दा नेपालको भन्दा कठिन काम गर्न परदेश जाने युवाहरुको लामबद्ध लर्को लाग्ने गरेको श्रम विज्ञ ऋषिराम भुसाल बताउँछन्।
८ सय बढी व्यक्तिगत उजुरी
विभागमा श्रमिकहरुले ठूलो संख्यामा व्यक्तिगत उजुरी गर्ने गरेको पाइएको छ। रोजगारीका लागि नेपाल आएका ८ सय ३ जना श्रमिकहरुले आफूहरु विभिन्न समस्यामा परेको भन्दै श्रम तथा व्यवसायजन्य विभागमा उजुरी गरेका छन्।
हालै १ सय २६ वटा सामूहिक उजुरी परेको छ।
काम गर्दा भनेजस्तो काम वा सेवा सुविधा नपाएको, रोजगारीका क्रममा ठगिएको लगायत विभिन्न कारणबाट समस्यामा परेका उजुरी कामदारहरुले लिएर आउने गरेका छन्।
रोजगारदाता र श्रमिकहरुसँग समन्वय गरेर विवाद समाधान गर्ने गरेको विभागले जानकारी दिएको छ। ८ महिनामा ४ सय २७ वटा विवाद समाधान गरिएको विभागले जनाएको छ।
गुनासो सुनुवाइतर्फ पहिले आउनेलाई पहिलो प्राथमिकता दिएको विभागले जनाएको छ। सेवाग्राहीहरुसँग शिष्ट र मर्यादित व्यवहार गरी कार्यालयको उजुरी पेटीका नियमित निरीक्षण गरिने विभागको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।