विराटनगर– मोरङ क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवार सुनील शर्माले आचारसंहिता विपरीत आफ्नो चुनावी क्षेत्रमा मतदाता प्रभावित पार्ने अभियान चलाइरहेको पाइएको छ।
एमबिबिएसको नक्कली प्रमाणपत्र लिएको आरोप लागेका नोबेल मेडिकल कलेज विराटनगरका सञ्चालक शर्माले आफ्नो अस्पतालको स्वास्थ्यकर्मी टोली निर्वाचन क्षेत्रमा लगेर निःशुल्क स्वास्थ्य शिविर चलाएका हुन्।
नोबेलको टोलीले मोरङ क्षेत्र नम्बर–३ को सुन्दर हरैंचा नगरपालिका वडा नम्बर ९ मा कात्तिक २० गते स्वास्थ्य शिविर आयोजना गरेको हो। नोबेल अस्पतालका जनसम्पर्क अधिकारी नारायण दाहाल चिकित्सक र नर्सको टोली लिएर आफैं गाउँ पुगेका थिए।
शिविरमा आएका स्थानीयलाई स्वास्थ्य समस्या अनुसार औषधि दिइयो। शिविरमा गर्न नसकिने उपचारका निम्ति नोबेल अस्पताल आउन भनियो र नोबेल पुग्नेलाई निःशुल्क उपचारको आश्वासन दिइयो।
यसभन्दा एक दिनअघि १९ गते सुन्दर हरैंचाकै वडा नम्बर १० मा पनि स्वास्थ्य शिविर लगिएको थियो।
पेट दुख्ने समस्या भएकी सुन्दर हरैंचा त्रिवेणी चोककी मंगला विश्वकर्मालाई शिविरले निकै गुन लगाएको महसुस भएको रहेछ। स्वास्थ्यकर्मी टोलीको सल्लाह अनुसार उनी नोबेल पुगिन् र आर्थिक समस्या दर्शाउँदै नोबेल सञ्चालक सुनील शर्मालाई भेटेर निःशुल्क उपचार पाइन्।
‘खाना खाएबाहेक पैसा तिर्नु परेको छैन,’ उनले भनिन्, ‘हामीजस्तो गरिबलाई निःशुल्क उपचार गरेर नोबेलले ठूलो गुन लगायो।’
पथरी शनिश्चरे–४ कीर्तिपुरकी ५० वर्षीया मनमाया थापामगरले पनि कात्तिक ८ गते गाउँमा सञ्चालित शिविरमा जँचाइन्। पाठेघर झर्ने समस्याबाट पीडित उनको नोबेलले निःशुल्क शल्यक्रिया गरिदियो।
नोबेलको निःशुल्क उपचार पाएका यी प्रतिनिधि मतदाता हुन्। क्षेत्र नम्बर ३ मा सुन्दर हरैंचाका १,८,९,१०,११, १२ वडा, बेलबारी नगरपालिका, पथरी नगरपालिका र कानेपोखरी गाउँपालिका पर्छन्। पछिल्ला दिनमा यस क्षेत्रका टोलटोलमा दैनिकजसो निःशुल्क शिविर आयोजना भइरहेका छन् र प्रत्येक दिन कम्तीमा दुई बस बिरामी नोबेल अस्पताल ओसारिने गरेका छन्।
‘अस्पतालजस्तो ठाउँलाई भोट माग्ने थलो बनाउनु भएन, यो आचारसंहिता विपरीत कार्य हो’, एमाले–माओवादी गठबन्धन क्षेत्र नम्बर ३ का उम्मेदवार भानुभक्त ढकाल भन्छन्।
नोबेल अस्पतालको चिकित्सक टोली र बस गाउँमै पुगेर बिरामी ओसार्ने गरेको छ। अस्पताल ल्याएर निःशुल्क उपचारपछि घर पठाइदिने गरेको छ।
नोबेलमा जाँदा पहिले–पहिले सरकारले नै सुविधा दिएको १० प्रतिशत निःशुल्क उपचार सेवाको लाभ लिन नसकेका नागरिक हिजोआज उसैले निःशुल्क उपचार गरिदिँदा दंग छन्। निःशुल्क शिविरपछि उपचारको वातावरण तयार भएको प्रतिनिधिसभा निर्वाचनले हो। नोबेल सञ्चालक शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेपछि गाउँ–गाउँका गरिब–गुरुबाको स्वास्थ्य उपचार सम्भव भएको हो।
नोबेलमै कार्यरत तथा हाल शर्माको चुनावी अभियानका सहयोगी चन्द्र पराजुलीका अनुसार हिजोआज टोलटोलमै स्वास्थ्य शिविर आयोजना हुन्छन्। तर, शिविर क्षेत्र नम्बर ३ का लागि मात्रै हो।
‘धेरै ठाउँमा हुने गरेकाले कहाँ कति शिविर सञ्चालन भ एभनेर ठ्याक्कै त बताउन सकिएन’, पराजुलीले भने– ‘तर, शिविरमा सयौंको निःशुल्क उपचार भइसकेको छ। शिविरमा जचाँइएका बिरामीलाई अस्पताल लगेर उपचार गरिदिने व्यवस्था मिलाएका छौं।’
उनले जनताले निःशुल्क स्वास्थ्य सेवा पाऊन् भनेर नोबेलले यस्तो कार्यक्रम चलाएको र क्षेत्र नम्बर ३ का जनताले उपचारबापत नोबेलमा पैसा तिर्नुनपर्ने बताए।
निःशुल्क उपचारले सर्वसाधारणलाई राहत पुगे पनि नोबेलको उद्देश्य मतदातालाई प्रभावमा पार्नेतर्फ केन्द्रित देखिन्छ।
‘अस्पतालजस्तो ठाउँलाई भोट माग्ने थलो बनाउनु भएन, यो आचारसंहिता विपरीत कार्य हो’, एमाले–माओवादी गठबन्धन क्षेत्र नम्बर ३ का उम्मेदवार भानुभक्त ढकाल भन्छन्, ‘हामीले सम्बन्धित निकायलाई सचेत गराइसकेका छौं।’
निर्वाचन आचारसंहिताले मतदातालाई प्रलोभनमा पार्ने कुनै पनि गतिविधि गर्न उम्मेदवारलाई बन्देज लगाएको छ।
निर्वाचन आयोगकै सहमति
नोबेल मेडिकल कलेजलाई स्वास्थ्य उपचार गतिविधि गराउन निर्वाचन आयोगले नै सहमति दिएको बुझिएको छ। सञ्चालक शर्मा प्रतिनिधिसभा निर्वाचनमा उठ्ने चर्चा चलिरहेकै समयमा नोबेलले स्वास्थ्य मन्त्रालय र निर्वाचन आयोगको सहमति लिएर शिविर चलाउन थालेको थियो।
मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यका अनुसार स्वास्थ्य मन्त्रालय र निर्वाचन आयोगको अनुमति लिएर नोबेल अस्पतालले निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न थालेको थियो।
यसैबीच नोबेलकै सञ्चालक शर्मा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेपछि निर्वाचन आयोगमा उजुरी परेपछि निर्वाचनको स्वच्छतामा बाधा पर्ने भन्दै आयोगले अनुमति रद्द गर्ने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी आचार्य भन्छन्, ‘नोबेलका प्रमुख निर्वाचनमा उम्मेदवार भएकाले सोही अस्पतालले गरिरहेको निःशुल्क स्वास्थ्य सेवा गतिविधि रद्द गरिएको निर्णयको बोद्यार्थ आइसकेको छ।’
तर, आयोगले १८ गते गरेको सो निर्णयबारे जानकारी पाइसकेपछि पनि नोबेल अस्पतालले शिविर चलाउन छाडेको छैन। आयोगले गरेको उक्त निर्णय क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले नोबेल अस्पतालमा २१ गते तामेल गराएको जनाएको छ।
‘निर्णय हुनासाथै हामीले फोनमार्फत शिविर नचलाउनू भनेर जानकारी गराइसकेका छौं,’ कार्यालय प्रमुख प्रेमप्रसाद सञ्जेलले भने, ‘निर्णय तामेल भइसकेको छ, कार्यान्वयन गरे–नगरेको अनुगमन गर्दैछौं।’ सञ्जेलका अनुसार पहिले नोबेल अस्पतालका प्रमुख चुनावमा उठेको नखुलेकाले आयोगले अनुमति दिएको र खुलिसकेपछि आयोग पछि हटेको बुझिन आएको छ।
यता, नोबेल मेडिकल कलेज विराटनगरले निःशुल्क स्वास्थ्य शिविर अभियान जारी रहेको बताउँदै निर्वाचन आयोग र स्वास्थ्य मन्त्रालयकै अनुमतिमा शिविर चलिरहेको जनाएको छ।
कलेज सञ्चालक शर्माले आफ्नो पदबाट राजीनामा दिइसकेको हुनाले शिविरलाई उम्मेदवारसँग जोड्न नमिल्ने नोबेल अस्पताल स्रोतले जनाएको छ।
जनसम्पर्क अधिकारी दाहालले भने, ‘सुनील शर्मा सरले कलेजको निर्देशक पदबाट राजीनामा दिइसक्नुभएको छ। उहाँ र कलेजको सम्बन्ध नरहेको अवस्थामा हामीलाई स्वास्थ्य शिविर चलाउन आचारसंहिताले छेक्छ जस्तो लाग्दैन।’
दाहालले आचारसंहिता उल्लंघन भयो भनेर आयोगले रोक्न निर्देशन दिएमा आफूहरुले शिविर बन्द गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।