डडेल्धुरा- चुनाव आउन एक महिना बाँकी रहँदा डडेल्धुरा जिल्ला सदरमुकामसँगै गाउँबस्तीमा समेत चहलपहल बढेको छ।
ठूला राजनीतिक दलका झन्डा र पर्चा पम्प्लेटले सदरमुकाम बागबजार भरिभराउ भएको छ।
लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि चार पटक डडेल्धुराबाट लगातार चुनाव जितेका प्रधानमन्त्री शेरबहादुर देउवा पाँचौँ पटकका लागि चुनाव लडिरहेका छन्।
वाम घटकबाट नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य खगराज भट्ट प्रधानमन्त्री देउवासँग तेस्रो पटक चुनावी प्रतिस्पर्धामा छन्। माओवादी युद्धकालदेखि नै राजनीतिमा प्रवेश गरेका भट्ट यसपालि प्रधानमन्त्री देउवाको प्रभावक्षेत्र मानिएको डडेल्धुरामा आफ्नो जित निश्चित रहेको दाबी गर्छन्।
यसभन्दा पहिले २०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा माओवादीका पोलिटब्युरो सदस्य भट्ट अत्यधिक मतको फरकमा देउवासँग हार बेहोरेका थिए।
त्यसैगरी, प्रतिनिधिसभा निर्वाचनमा देउवासँग पटकपटक हार खेप्दै आएका जनमोर्चाका लालबहादुर जाग्री र स्वतन्त्रतर्फबाट कर्णसिंह रावल पनि प्रतिस्पर्धामा छन्। जनमोर्चाका जाग्री जिल्ला अध्यक्षका साथै केन्द्रीय कार्य समितिमा बसेर राजनीतिमा दख्खल राख्ने नेतामा पर्छन्।
प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री देउवासँगै डडेल्धुरामा ६ जनाले चुनाव लड्ने भएका छन्। चुनावी प्रतिस्पर्धामा स्वतन्त्रबाट लागातार चुनाव लड्दै आएका कर्णसिंह रावल पनि फेरि चुनावी अभियानमा छन्। ६ जनामध्ये रावल एकमात्र स्वतन्त्र उम्मेदवार हुन्।
त्यसैगरी, नेपाल दलित पार्टीबाट रमेश टमटा र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट लक्ष्मीदत्त भट्ट चुनावी मैदानमा रही प्रचारप्रसारमा जुटेका छन्।
२ वटा प्रदेश रहेको डडेल्धुरामा पहिलो प्रदेशबाट नेपाली कांग्रेस र वाम एकताका गरी ४ जनाले प्रतिस्पर्धा गरिरहेका छन् भने दोस्रोमा कांग्रेस र वाम एकतासँगै ४ जना चुनावी दौडमा रहेका छन्। राप्रपा र नयाँ शक्ति नेपालले भने कांग्रेसलाई समर्थन गर्ने गरी मनोनयन फिर्ता लिएका छन्।
डडेल्धुरामा स्थानीय निकायको चुनावी परिणामलाई हेर्दा लोकतान्त्रिक गठबन्धन कांग्रेसका तर्फबाट प्रधानमन्त्री देउवा र वाम घटकबाट माओवादी केन्द्रका भट्टको प्रतिस्पर्धा रहने देखिन्छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।