ललितपुर- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दाबी गरेका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले बुधबार केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता खाँणले यस्तो दाबी गरेका हुन्।
'नेपाली कांग्रेसले प्रतिनिधिसभाका १ सय ६५ मध्ये १ सय ५४ सीटमा र प्रदेशसभाका ३ सय ३० मध्ये ३ सय १० सीटमा उम्मेदवार उठाएको छ,' नेता खाँणले भने, 'यसमध्ये कम्तिमा ५५ प्रतिशत सिट ल्याउँदै हामी बहुमत पुर्याकउँछौं।'
नेता खाँणले ६० प्रतिशत स्थानमा मात्र उम्मेदवार उठाएको नेकपा एमाले र ४० प्रतिशत मात्र उम्मेद्वार उठाएको माओवादीको दुई तिहाइ सिट जित्ने दाबी हावादारी भएको आरोप लगाए।
उनले स्थानीय निर्वाचनको नतिजाले नै नेपालको वास्तविक जनमत प्रतिविम्बित गर्न नसक्ने उल्लेख गर्दै प्रश्न गरे, '२०३६ सालको जनमत संग्रहमा पञ्चायतले २४ लाख र बहुदलले २० लाख मत पाएको थियो, तर २०४६ सालमा आइपुग्दा जनमत बदलियो कि बदलिएन?'
अधिकतम सिटमा उम्मेदवारी दिएकाले नेपाली कांग्रेसलाई समानुपातिक तर्फ लाभ हुने नेता खाँणले बताए। उनले भने, 'हाम्रै मतको लाभ त हामीलाई हुन्छ नै, त्यसबाहेक थ्रेस होल्ड नपुगेका पार्टीहरुमा परेको भोटको लाभ पनि नेपाली कांग्रेसले पाउँछ।'
उनले पार्टी यसअघिका निर्वाचनमा भन्दा एकताबद्ध भएर होमिएकाले पनि कांग्रेसको विजयलाई कसैले रोक्न नसक्ने जिकिर गरे।
उनले यो निर्वाचनमा दुई तिहाई सिट जितेर देशमा अधिनायकवादी राज्यको सपना पालेका कतिपय वामपन्थी नेताको जमानत जफत हुने दाबी गरे। भने, 'साम्यवादकै सपना देखेर कम्युनिस्ट शासन स्थापना गर्नेतिर जाने हो भने अब नेपालमा सिद्धिने पालो कम्युनिस्टहरुको हुनेछ र अर्को चुनावमा उहाँहरुले सबै क्षेत्रमा उम्मेदवार पनि पाउनुहुने छैन।'
उनले थपे, '२००७ सालमा अधिनायकवादी राणा शासन ढल्यो, पञ्चायतले कांग्रेस र लोकतन्त्र सक्ने अभियान चलायो अनि पञ्चायत नै सकियो, त्यसपछि राजतन्त्र निरंकुश शैलीमा उत्रियो, राजतन्त्र पनि सकियो। अधिनायकवादमा जान खोज्ने हो भने नेपालमा कम्युनिस्टलाई जनताको साथ रहँदैन, यिनीहरु पनि सकिन्छन्।'
अधिकांश समय वाम गठबन्धन विरुद्ध खनिएका नेता खाँडले कम्युनिस्ट पार्टीका नेताहरु नेपालमा जातीय, भौगोलिक, धार्मिक र साम्प्रदायिक द्वेष र विभाजनको बीउ रोप्दै हिँडेकाले उनीहरुबाट विविधता बोकेको नेपालको राष्ट्रियता र अखण्डता सबल नहुने ठोकुवा गरे।
कार्यक्रममा कांग्रेस चुनाव परिचालन समितिका सहसंयोजक बद्री पाण्डले कांग्रेस राजनीतिक व्यवस्थाको टुंगो लगाएर आर्थिक समृद्धिमा केन्द्रित हुन अग्रसर रहेको बेलामा कम्युनिस्टहरुले मुलुकलाई पुनः राजनीतिक अस्थिरतामा रुमल्याउन लागेका आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।