काठमाडौं- प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सदस्यहरु बस्ने कुर्सी ठिक्क पार्ने तयारी भइरहँदा प्रदेशसभाका सांसद बस्ने भवन अझै टुंगो लाग्न सकेको छैन। सरकारले दुई साताभित्र प्रदेशसभाका लागि अन्तरिम भवन व्यवस्थापन गर्ने तयारी गरेको छ।
मंसिर १० र २१ गतेको प्रदेशसभाको निर्वाचन परिणाम सार्वजनिक भएको २० दिनभित्र पहिलो बैठक बस्नुपर्ने संवैधानिक प्रावधान छ। प्रदेशसभाको बैठकका लागि हाल क्षेत्रीय कार्यलयका भवनमा अन्तरिम व्यवस्थापन गर्ने तयारी भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
प्रदेशको राजधानी तय नहुँदा प्रदेशसभा रहने स्थान टुंगो लगाउन ढिलाइ भएको प्रधानमन्त्री एवं मन्त्रिपरिषद कार्यलयका प्रवक्ता हरिप्रसाद पन्थीले बताए।
'प्रदेशको राजधानी टुंगो नलाग्दा प्रदेशसभाका लागि हामीले स्थायी भवन व्यवस्थापन गर्ने गृहकार्य सुरु गरेका छैनौं अन्तरिम व्यवस्थापन भने क्षेत्रीय प्रशासन कार्यलयका भवनहरुमा गर्ने तयारी भइरहेको छ,' पन्थीले भने।
प्रदेशसभाका लागि चाहिने कर्मचारी व्यवस्थापनका लागि समेत गृहकार्य भइरहेको उनले बताए।
'प्रदेशसभाका सदस्य चयन भएपछि त्यसले गर्ने काम कारबाही छिट्टै अघि बढ्नुपर्छ, कर्मचारी वा भवन अभावमा रोकिने कुरा हुँदैन। जनशक्ति व्यवस्थापनको खाका बनिरहेको छ, १२ दिनभित्रै सबै टुंगो लाग्छ,' पन्थीले भने।
संसद सचिवालयले पनि प्रदेशसभाको भवन रहने स्थान छिट्टै टुंगो लगाउन सरकारको ध्यानाकर्षण गराइसकेको छ।
'संविधान अनुसार निर्वाचन परिणाम सार्वजनिक भएको २० दिनभित्र पहिलो बैठक बस्नुपर्ने हुन्छ। तर, भवनको टुंगो लाग्न सकेको छैन। हामीले सरकारलाई भवन व्यवस्थापन गर्न आग्रह गरेका छौं,' सचिवालयका प्रवक्ता भरतराज गौतम भन्छन्।
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक भने बानेश्वरमै राख्नेगरी संसद सचिवालयले तयारी गरिरहेको छ। प्रतिनिधिसभाका लागि हरियो कुर्सी र राष्ट्रियसभाका लागि रातो कुर्सी राख्ने गरी संसद सचिवालयले तयारी अघि बढाएको छ।
संसद सचिवालयले विघटित संसद बैठक कक्षमा प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने र त्यहीँ रहेको नुप्से हलमा राष्ट्रियसभा बैठक चलाउने गरी तयारी अघि बढाइरहेको प्रवक्ता गौतमले जानकारी दिए।
संघीय संसदको तल्लो सदन प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनबाट चुनिने १ सय ६५ र समानुपातिकबाट आउने १ सय १० गरी २७५ सांसद हुनेछन् भने माथिल्लो सदन राष्ट्रिय सभामा ५९ सदस्य हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।