सुर्खेत– सुर्खेतमा आगामी मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मनोनयन दर्ता भइसकेको छ। सुर्खेतबाट प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ सिटका लागि उम्मेदवारी दर्ता गराएका ५९ जनाको सूची हेर्दा युवाको बाहुल्य देखिन्छ।
प्रमुख दलहरुबाट भन्दा पनि साना दलहरुले युवा उम्मेदवारहरुलाई अघि सारेका छन्। तिनैमध्ये केही युवा जिल्लाका हेभीवेट नेताहरुसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एवम् पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का, नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री यामलाल कँडेल, कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री हृदयराम थानी, बहालवाला सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका केही तन्नेरी उम्मेदवारहरुलाई हामीले यहाँ समेटेका छौं।
‘मतदाताले एक पटक हामीलाई परीक्षण गरेर हेर्नुपर्छ’
प्रचण्ड पोखरेल (३६), नयाँ शक्ति पार्टी
मध्यपश्चिमलाई छुट्टै प्रदेश बनाउनुपर्ने माग गर्दै सुर्खेतमा भएको आन्दोलनमा प्रचण्ड पोखरेल सधैं अग्रपंक्तिमा थिए। उनले हरेक दिन युवाहरुलाई एकत्रित गर्दै सडक तताए। जुन आन्दोलनको बलमा सुदूरपश्चिमसँग गाभिएको मध्यपश्चिमका दस जिल्लालाई छुट्टै प्रदेश बनाइयो। उक्त आन्दोलनको सफलतामा आफूले पनि भूमिका निर्वाह गर्न पाएकोमा पोख्रेल गर्व गर्छन्। तर, गर्व गरेर बसिरहने स्वभाव उनको छैन। बरु उनी चाहन्छन् आन्दोलनको बलमा स्थापित प्रदेश नम्बर ६ लाई समृद्ध बनाउन थप भूमिका निर्वाह गर्न सकियोस्। यही चाहना पूरा गर्न उनी राजनीतिमा होमिएका छन्।
कम्युनिस्ट विचारधाराबाट प्रशिक्षित भएर आएका पोखरेलले देशमा मौजुदा दल र तिनको नेतृत्वबाट समृद्ध नेपाल नबन्ने ठम्याएका छन्। त्यसैले उनले रोजे, वैकल्पिक शक्ति निर्माण गर्ने उद्घोषसहित स्थापना भएको नयाँ शक्ति पार्टी। आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा पोखरेल नयाँशक्तिका तर्फबाट सुर्खेतको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन्। उनको प्रतिस्पर्धा कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री हृदयराम थानी, वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका नवराज रावत लगायतसँग हुँदै छ।
पहिलो पटक संसदीय निर्वाचनमा सहभागी हुन लागेका पोखरेल जिल्लाका हेभीवेट नेताहरुसँगको प्रतिस्पर्धाबाट आफू नडराएको बताउँछन्। भन्छन्, ‘मतदाताले व्यक्ति हेर्ने होइन, व्यक्तिको क्षमता र उसले विगतमा खेलेको भूमिका हेरेर मतदान गर्छन्। त्यसैले मतदाताले मलाई मत नदिनुपर्ने कुनै कारण छैन। म प्रतिस्पर्धाका लागि पूर्णरुपमा तयार छु।’
आफ्नो पार्टीको प्रमुख एजेन्डा नै विधिको शासन स्थापना गर्ने र समृद्ध मुलुक निर्माण गर्ने भएकाले जनताले यो एजेन्डालाई आत्मसात् गर्दै आफूलाई भोट दिनेमा विश्वस्त रहेको उनको भनाइ छ। उनले भने, ‘हिजो व्यवस्था बदल्न लाग्यौं, अब अवस्था बदल्नका लागि हामी आएका छौं, हामीलाई जनताले पक्कै साथ दिनुहुनेछ। जनताले साथ दिएमा हामी विधिको शासन स्थापित गर्नेछौं।’
०३८ सालमा पूर्वी सुर्खेतको सिम्तामा जन्मिएका प्रचण्डको राजनीतिक यात्रा विद्यार्थीकालदेखि नै सुरु भएको हो। सुरुवातमा उनी एमाले निकट अनेरास्ववियुमा आबद्ध भए।
विद्यार्थी छँदा अनेरास्ववियुको क्याम्पस इकाई कमिटिको उपाध्यक्ष, स्ववियुको सहसचिव लगायतका जिम्मेवारी सम्हालेका उनी अहिले नयाँ शक्ति पार्टीको केन्द्रीय सदस्य छन्। कांग्रेस, एमाले र माओवादी लगायतका दल र तिनका एजेन्डालाई जनताले पटकपटक परीक्षण गरिसकेको र त्यसले प्रतिफल दिन नसकेकाले अब नयाँ शक्ति नै उनीहरुको विकल्प भएको उनी बताउँछन्। भन्छन्, ‘एक पटक हामीलाई परीक्षण गरेर हेर्नुस्, हामी तपाईंहरुको चाहना अनुसार काम गरेर देखाउँछौं।’
पोखरेलका मुख्य एजेन्डाः
– विधिको शासनसहितको समृद्ध समाज र मुलुक निर्माण गर्ने।
– नागरिकलाई आधारभूत सेवा तत्काल प्रदान गर्ने।
– कृषकलाई उत्पादनमा आधारित शत प्रतिशत अनुदान दिने।
– समृद्ध सुर्खेत निर्माणका लागि यहाँ रहेको विमानस्थलको स्तरोन्नति गर्ने।
– शिक्षा, स्वास्थ्य, सञ्चार र यातायातको सुविधाबाट कुनै पनि टोल वञ्चित हुनुनपर्ने।
– पर्यटन विकास गर्दै मुलुकको अर्थतन्त्रलाई सबल बनाउने।
‘यसपाली मतदाताले विकल्प खोजिरहेका छन्’
जीवन शाही (३२), राष्ट्रिय जनमोर्चा
०४६ सालको जनआन्दोलनका बेला जीवन शाही चार वर्षका मात्र थिए। शाही ६/७ वर्षको हुँदादेखि नै राजनीतिक अभियानमा सहभागी भए, केही बुझेर त केही नबुझेरै। अखिल नेपाल बाल संगठनमा आबद्ध भएर उनले त्यतिबेलै राजनीतिक यात्रामा आफूलाई डोर्याएका थिए।
उनका पिता कम्युनिस्ट आन्दोलनमा सक्रिय थिए। जीवन पनि पिताको प्रेरणाबाट राजनीतिमा आकर्षित भए। राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी संगठन अनेरास्ववियु छैटौंमा आबद्ध भएर विद्यार्थी राजनीतिसँगै रक्तिम सांस्कृतिक अभियानमा उनी सक्रिय रहे। अखिल छैटौंको कालिकोट जिल्ला उपाध्यक्ष, सुर्खेत जिल्ला कमिटि सदस्य, सचिव, अध्यक्ष हुँदै राष्ट्रिय परिषद् सदस्य समेत भइसकेका शाही सांस्कृतिक अभियानमा पनि निरन्तर छन्। रक्तिमको सुर्खेत जिल्ला अध्यक्ष, मध्यपश्चिमाचल क्षेत्रीय अध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय सचिव हुँदै हाल उनी केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा छन्।
विद्यार्थी राजनीतिसहित अन्य संघ–संगठनहरुका निर्वाचनमा सहभागी भए पनि संसदीय निर्वाचनमा भने उनी पहिलो पटक उम्मेदवार बनेका छन्। सुर्खेत क्षेत्र नम्बर २ को (क)बाट उनी आगामी मंसिरमा हुने प्रदेशसभाको निर्वाचनमा सहभागी हुँदै छन्। यी ३२ वर्षे तन्नेरीले शीर्ष दलका हेभीवेट नेताहरुसँग चुनावी प्रतिस्पर्धा गर्दै छन्, जुन उनका लागि सहज छैन। तर, शाहीे वैकल्पिक रोजाइ बन्ने आत्मविश्वाससहित मैदानमा उत्रिएका छन्।
मतदाताको मनस्थिति बदलिएको भन्दै शाही भन्छन्, ‘सुर्खेती जनताले हालसम्म सधैं कांग्रेस, एमाले र माओवादीलाई जिताए, तर जनताले अपेक्षा गरेअनुसार नेतृत्व पाए त ? पाएनन् । त्यसैले अब ती पुराना शासक दल र तिनको विकल्प जनताले खोज्नेछन् । म त्यही विकल्पको रुपमा निर्वाचनमा उम्मेदवार बनेको छु।’
पुरानै अनुहार र पुरानै एजेन्डालाई जिताएर यथास्थितिमै रहने कि नयाँ नेतृत्व र नयाँ एजेन्डा स्थापित गरेर अघि बढ्ने भन्ने कुरामा सोचेर मतदान गर्न उनले मतदातालाई आग्रह गरे। शाहीले यो निर्वाचनमा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका पोलिट्ब्युरो सदस्य एवम् पूर्वमन्त्री यामलाल कँडेल, कांग्रेस सुर्खेतका जिल्ला सभापति कमलराज रेग्मी लगायतसँग प्रतिस्पर्धा गर्दै छन्।
शाहीका मुख्य एजेन्डा
– राष्ट्रिय एकता, अखण्डता र स्वाधीनताको रक्षाका लागि युवाहरुलाई एकताबद्ध गर्ने।
– ओझेलमा परेका युवाका मुद्दालाई मूल प्रवाहमा ल्याउने र युवा नेतृत्व स्थापित गर्ने।
– शैक्षिक बेथितिको अन्त्य गर्ने।
– उद्यमशीलताको विकास गरी पर्याप्त रोजगारी सिर्जना गर्ने र गरिबी अन्त्य गर्ने।
– सुर्खेत उपत्यकाको चक्रपथ निर्माण गर्ने, खानेपानीको समस्या समाधान गर्ने, शहरी विकासलाई व्यवस्थित गर्ने, सुकुम्बासी समस्या समाधान गर्ने, बाढीपीडितलाई पुनःस्थापित गर्ने।
– सुर्खेत उपत्यकाको गुरुयोजना कार्यान्वयन गर्दै समृद्ध सुर्खेत निर्माण गर्ने।
– भेरी करिडोर, खोर्के करिडोर र इत्राम करिडोर निर्माण गर्ने।
‘जनताको विकास र समृद्धिको अपेक्षा पूरा गर्नेछु’
पदमप्रसाद खनाल (२७), विवेकशील साझा पार्टी
बालक्लब, युवा नेटवर्क हुँदै विभिन्न सामाजिक कार्यमा सक्रिय पदम खनाललाई समाजमा भएका विकृति र बेथितिले विरक्त बनाउँथ्यो। जहाँ पनि बेथिति, जतासुकै भ्रष्टाचार देख्दा उनलाई यसको अन्त्य हुनुपर्छ भन्ने लाग्थ्यो। तर, विभिन्न आन्दोलन र संघर्षबाट स्थापित ठूला राजनीतिक दलका नेतृत्वबाट उनले अपेक्षा गरेअनुसारको परिवर्तन भएन। त्यही नेतृत्वबाट आगामी दिनमा सुसंस्कृत र समृद्ध समाज निर्माण गर्ने अभिभारा पूरा हुने विश्वास पनि उनलाई लागेन। त्यसैले उनी आफैं राजनीतिमा होमिने संकल्प गर्दै रोजे, भर्खरै गठन भएको विवेकशील साझा पार्टी।
विवेकशील साझाका केन्द्रीय नेतृत्व र उनीहरुको एजेन्डा खनाललाई मन परेको थियो। आफूले सोचेजस्तै समाज र मुलुक निर्माणको उद्देश्य देखेपछि उनी त्यसमै आबद्ध भए।
आबद्ध भएको छोटो समयमै उनलाई पार्टीले निकै महत्वपूर्ण जिम्मेवारी पनि दिएको छ। उनी विवेकशीलको तर्फबाट सुर्खेत क्षेत्र नम्बर २ (ख)बाट प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका छन्। जसको प्रतिस्पर्धा वर्तमान सरकारका सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट, वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादीका पोलिटब्युरो सदस्य विन्दमान विष्ट लगायतका हेभीवेट नेताहरुसँग हुँदै छ।
खनाल भन्छन्, ‘म सांसद बन्न होइन, भ्रष्टाचारमुक्त, बेथितिरहित, सुसंस्कृत र समृद्ध नेपाल निर्माण गर्ने उद्देश्यसहित उम्मेदवार बनेको हुँ।’ २७ वर्षीय यी तन्नेरीले अहिलेका मतदाताहरु विवेकशील भएकाले झुटा आश्वासन बाँडेर चुनाव जित्ने पुराना दलका पुरानै नेतृत्वलाई भोट नदिने जिकिर गरे।
‘जनताले पुराना दल र तिनका नेताबाट समृद्ध समाज र विकसित मुलुक बन्न नसक्ने कुरा बुझिसक्नुभएको छ, त्यसैले उहाँहरुले नयाँलाई भोट दिनुहुनेछ। त्यही चाहना बुझेर म उम्मेदवार बनेको हुँ।’
खनाल सुर्खेतको पञ्चपुरी नगरपालिका ५ मा ०४७ सालमा जन्मिएका हुन्। बाल्यकालदेखि नै विभिन्न सामाजिक कार्यमा सक्रिय उनको राजनीतिक जीवन त्यति लामो नभए पनि उनको लक्ष्य र अबको योजना भने निकै लामो छ। त्यसैले उनी विवेकशील साझामार्फत पूर्णकालीन राजनीतिमा होमिएका छन्।
खनालका मुख्य एजेन्डा
– भ्रष्टाचारमुक्त, बेथितिरहित, सुसंस्कृत तथा समृद्ध समाज र नेपाल निर्माण गर्ने।
– पश्चिम सुर्खेतलाई विद्युतीकरण गर्ने, सबै ठाउँमा सडक र सञ्चार सेवा पुर्याउने, शैक्षिक विकास गर्ने र समृद्ध बनाउने।
– उद्यमशीलता र औद्योगिक विकासमार्फत स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्ने। युवाहरुलाई रोजगारीका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्ने।
– युवाहरुलाई दुव्र्यसनीबाट मुक्त गरी सबल, आत्मनिर्भर र सुसंस्कृत समाज निर्माण गर्ने।
‘मेरो पार्टीका एजेन्डालाई जनताले साथ दिनेछन्’
रमा आचार्य (२८), विवेकशील साझा पार्टी
मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ सुर्खेतबाट चार जना महिलाको मात्रै उम्मेदवारी परेको छ। जसमध्ये एक हुन्, विवेकशील साझाकी रमा आचार्य। यी २८ वर्षीया युवतीले राष्ट्रिय राजनीतिमै स्थापित कांग्रेसका पूर्व सहमहामन्त्री एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का तथा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाही जस्ता हेभीवेट नेतासँग चुनावी प्रतिस्पर्धा गर्दै छिन्।
०४६ सालमा वीरेन्द्रनगर ६ सुर्खेतमा जन्मिएकी रमा यसअघि कुनै पार्टीमा आबद्ध थिइनन् । सानैदेखि राजनीतिमा आस्था रहे पनि राम्रो र फरक उद्देश्यको पार्टी नहुँदा उनी खुलेर लागिनन्।
‘तर, मेरो विचारसँग मिल्ने उद्देश्य विवेकशील साझा पार्टीमा पाएपछि यस पार्टीमा आबद्ध भएँ’, उनी भन्छिन्।
राजनीतिक यात्रा सुरु गरेको ६ महिनामै प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फबाट उम्मेदवारी दिएकी रमा आफ्नो पार्टीको एजेन्डा र उद्देश्य अरुभन्दा फरक भएकाले जित्ने आधार बलियो देख्छिन्।
वर्षौंदेखि राजनीतिमा लागेका पुरुषहरुसँग प्रतिस्पर्धामा उत्रिएकी रमाले आफ्नो पार्टीले भष्टाचार विरुद्धको अभियान चलाएको, दलित तथा गरिबको एजेन्डालाई उठाएकाले चुनावमा आफूले जित्नेमा विश्वस्त रहेको बताइन्।
भन्छिन्, ‘म पहिलो पटक नै हेभीवेट नेताहरुसँग चुनावी प्रतिस्पर्धा गर्दै छु, तर म आत्तिएको छैन । मेरो पार्टीको नीति र एजेन्डा मतदाताले मन पराएकाले उहाँहरुले मलाई भोट दिनेमा ढुक्क छु।’
आचार्यका प्रमुख एजेन्डा
– सुशासन र सदाचार कायम गर्ने।
– राजनीतिलाई सुसंस्कारयुक्त बनाउने।
– भ्रष्टाचार र विभेदरहित समाज निर्माण गर्ने।
– महिलाहरुको नेतृत्व स्थापित गर्ने।
– जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।