एजेन्सी– करोडौं अमेरिकी डलर घाटा ब्यहोरिरहेको सामाजिक सञ्जाल स्न्यापच्याटको मूल कम्पनी स्न्याप इन्कर्पोरेसनले प्रयोगकर्ता आकर्षित गर्न र नाफा कमाउन आफ्नो मेसेजिङ एपमा सुधार गरिरहेको जनाएको छ।
कम्पनीले मंगलबार पछिल्लो त्रैमासिकमा ४० करोड अमेरिकी डलरभन्दा बढी घाटा भएको सार्वजनिक गरेपछि यसको सेयर मूल्य स्वाट्टै घटेको थियो।
कम्पनीले लगानीकर्तालाई गत वर्षको यही त्रैमासिकभन्दा यस वर्षको त्रैमासिकमा भने ६२ प्रतिशत धेरै आम्दानी गरेको जानकारी दिएको छ। कम्पनीले यो त्रैमासिकमा २० करोड ८० लाख अमेरिकी डलर आम्दानी गरेको छ। यद्यपि समग्रमा कम्पनी भने घाटामा गएको हो।
अहिले कम्पनीको विज्ञापनबाट हुने आम्दानी र दर घटेको छ। कम्पनीले निर्माण गरेका सनग्लासले अपेक्षित बजार लिन नसक्दा अत्यधिक संख्यामा भण्डारमा नै थुप्रिएकाले करिब ४ करोड डलर घाटा ब्यहोर्नुपरेको जनाएको छ।
‘हामी आगामी दिनमा यस्ता गल्तीहरू नदोहोरिने गरी योजना बनाउनेछौं,’ कम्पनीका २७ बर्से प्रमुख कार्यकारी अधिकृत इभान स्पिगेलले भने।
घाटा भएको सार्वजनिक हुनासाथ कम्पनीको शेयर मूल्य १७ प्रतिशतभन्दा धेरैले घटेको छ।
यसै वर्ष मार्चमा निजीबाट पब्लिक कम्पनीमा परिणत हुँदा स्न्यापच्याटको प्रति सेयर मूल्य १७ अमेरिकी डलर थियो, अहिले घटेर १३ अमेरिकी डलरभन्दा तल पुगेको छ।
स्न्यापच्याट बन्द हुन लागेको हल्लाले पनि कम्पनीको कारोबारमा प्रभाव पारेको बताइन्छ।
कम्पनीले अपेक्षा गरेभन्दा न्यून रकम आम्दानी गरेको थियो भने प्रयोगकर्ताको संख्यामा पनि उल्लेख्य वृद्धि गर्न सकेको थिएन।
स्न्यापच्याटले अब हुने परिवर्तनपछि एन्ड्रोइड मोबाइलमा एप चलाउन सजिलो हुने दाबी गरेको छ।
‘दीर्घकालीन फाइदाका लागि अहिले हामी जोखिम उठाउन तयार छौं,’ स्पिगेलले भने।
स्न्यापच्याटले टिनएजर्सबीच मेसेजिङ सुरु गरी लोकप्रियता कमाएको थियो।
तर, अहिले स्न्यापच्याटले आफ्नो एपजस्तै विशेषतायुक्त फेसबुक र उसको तस्बिर साझा गर्ने अर्को सामाजिक सञ्जाल इन्स्टाग्रामबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ।
कम्पनीले पछिल्लो तीन महिनाभन्दा अहिले एपको प्रयोगकर्ता संख्या ३ प्रतिशतले बढेको जनाएको छ। कम्पनीका अनुसार स्न्यापच्याटमा औसत दैनिक १७ करोड ८० लाख सक्रिय प्रयोगकर्ता छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।