सुरुङ्गा, झापा- पूर्ण–टुङ्ग समाज कल्याण कोषको स्थापनाका लागि झापाको बिर्तामोड नगरपालिका–१ निवासी समाजसेवी टुङ्गबहादुर बस्नेतले रु एक करोड प्रदान गरेका छन्।
प्रत्येक वर्ष सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने व्यक्तिलाई कोषको ब्याजबाट प्राप्त रकमले पुरस्कृत गर्ने गरी कोष स्थापना गरिएको कोषका सञ्चालक गोपालकुमार बस्नेतले जानकारी दिए।
सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै आएका बस्नेतले बिर्तामोडस्थित शिव नर्वदेश्वर धाम परिसरमा आयोजित स्कन्द महापुराण समापन समारोहका अवसरमा कोषको घोषणा गर्दै रकम प्रदान गरेका हुन्।
सोही अवसरमा उनले ज्येष्ठ नागरिक जिल्ला संघ, झापालाई रु १५ लाख मूल्य बराबरको पाँच धुर जमिन प्रदान गरेको घोषणा गरे। संघको भवन निर्माणका लागि उनले सो जमिन प्रदान गरेका हुन्।
संघका जिल्ला अध्यक्ष भवानी दाहाल, सहसचिव लक्ष्मीप्रसाद पाण्डे, कोषाध्यक्ष ईश्वरीप्रसाद तिमल्सिना, बिर्तामोड नगरपालिका वडा नम्बर १ का अध्यक्ष रत्नबहादुर बस्नेत तथा उपाध्यक्ष डम्बरबहादुर बस्नेतको उपस्थितिमा जमिन हस्तान्तरण गरिएको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।