एजेन्सी- 'हेट स्टोरी ४' बाट बलिउडमा डेब्यु गर्न लागेकी अभिनेत्री इहाना ढिल्लोले फिल्म सत्य घटनामा आधारित भएको खुलासा गरेकी छन्।
'यो त्रिकोणात्मक फिल्म नभई बदलाको कथा हो। यो अघिल्ला शृंखला जस्तै थ्रिलर फिल्म हो जुन भिन्न र वास्तविक घटनामा आधारित छ,' उनले भनिन्, 'त्यसैले म यो फिल्म गर्न उत्साहित भएकी थिएँ। फिल्ममा म एक व्यवसायी केटीको भूमिकामा छु। '
फिल्मको चौथो शृंखलाका निर्देशक विशाल पान्डेय हुन्। फिल्ममा उर्वशी रौतेला, किरण वाही, विभान भट्टेना तथा गुल्सन ग्रोभरको मुख्य अभिनय रहेको छ। फिल्मको लन्डनमा छायांकन भइरहेको छ।
सुटिङका क्रममा सहकर्मी कलाकार उर्वशीसँग आफ्नो ठाकठुक परेको कुरा हल्लामात्रै भएको उनले बताइन्। 'हाम्रो झगडा हुनै सक्दैन्। यो असम्भव छ किनकि हामीले अभिनय गरिरहेको भूमिका एकअर्काबाट बिलकुल भिन्न छ,' उनले भनिन्, 'मेरो उर्वशीसँग राम्रो सम्बन्ध छ र हामी एकसाथ काम गर्नमा रमाइरहेका छौं।' फिल्ममा उनी व्यावसायिक युवतीको भूमिकामा छिन् भने उर्वशी सुपरमोडलको रुपमा प्रस्तुत हुनेछिन्।
फिल्म मार्च २ मा रिलिज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।