काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले बजेट कार्यान्वयन उपलब्धिमूलक बनाउन मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन्। आर्थिक वर्ष २०७५/७६ को दोस्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आइतबारको बैठक अर्थमन्त्री खतिवडाले मन्त्रालय मातहतका निकायबाट सम्पादन हुने काम यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएका हुन्।
कानुनको शीघ्र तर्जुमा गर्ने, राजस्व परिचालनमा बिलिङ कार्यान्वयन र बजार अनुगमनलाई थप तिव्रता दिने, नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजना बमोजिमका कार्यहरुको समयमा कार्यान्वयन गर्न जिम्मेवार भई कार्यसम्पादन गर्न समेत उनले निर्देशन दिए।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष प्रा. डा. पुष्प कँडेलले आर्थिक वर्षको बाँकी अवधिमा लक्ष्य अनुरुप कार्य सम्पादन गर्न जोड दिँदै अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको बीचमा आगामी बजेट तर्जुमामा प्रभावकारी सहकार्य गर्नुपर्ने बताएका थिए।
अर्थ सचिव डा. राजन खनाल, सचिव (राजस्व) श्री लालशंकर घिमिरे र महालेखा नियन्त्रक श्री सूर्यप्रसाद गौतम समेतको उपस्थिति रहेको सो कार्यक्रममा महाशाखा प्रमुख, विभागीय प्रमुख, नियामक निकायका प्रमुख र आयोजना प्रमुखहरुले आ-आफ्नो निकायको प्रगति अवस्था र कार्यान्वयनको क्रममा देखा परेका समस्याको बारेमा संक्षिप्त प्रस्तुति गरेका थिए।
कार्यक्रममा मन्त्रालयले हालसम्म गरेका उपलब्धिका विषयमा छलफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।