काठमाडौं- वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाइनुपर्ने सरोकारवालाहरुले धारणा राखेका छन्। वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सले देशको कुल गार्हस्थ उत्पादन(जिडिपी)मा करीब २५ प्रतिशत योगदान गरे पनि यो क्षेत्र व्यवस्थित नबनेको भन्दै उनीहरुले चिन्ता प्रकट गरेका हुन्।
आइतबार सूचना केन्द्रले आयोजना गरेको ‘वैदेशिक रोजगारीमा हाम्रो तयारी’ विषयक अन्तरक्रियामा बोल्ने सरोकारवालाले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन कामदार छनोट प्रक्रियामा ध्यान दिनुपर्ने बताउका हुन्। यसका साथै सीपयुक्त जनशक्ति पठाउन जोड दिनुपर्ने सरोकारवालाको धारणा छ।
नेपालमा रोजगारीका अवसर पहिचान गरी स्वदेशमा नै रोजगारी सिर्जना गर्न नसकेकाले विदेश जान बाध्यात्मक स्थिति रहेको समेत उनीहरुले बताए। श्रमिकहरुलाई सिप तथा तालिमको व्यवस्था गरी सम्बन्धित क्षेत्रका रोजगारीमा पठाउनुपर्ने श्रमविज्ञले जोड दिए।
पूर्वश्रममन्त्री कमल चौलागाँई भन्छन्, 'वैदेशिक रोजगारीको सबैभन्दा जटिल समस्या भनेकै अदक्ष कामदार पठाइनु हो, अदक्ष कामदार पठाइँदा उनीहरुले सस्तो मूल्यमा अमूल्य श्रम चुकाउनु पर्ने बाध्यात्मक अवस्था छ।'
नेपालका विभिन्न कृषि, व्यवसाय, उद्योगलगायत सम्भावित क्षेत्र पहिचान गरी स्वदेशमा नै रोजगारीमा लगाउन सके वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको संख्यामा समेत कमी आउने र देश विकासतर्फ अग्रसर हुने उनको भनाई छ।
निजी प्राविधिक शिक्षालय महासंघका अध्यक्ष सैलेन्द्र मोहन झाले सरकारले प्राविधिक जनशक्ति विदेश पठाए रेमिट्यान्स बढी र झन्झट कम हुने धारणा राखे। ‘देशमा प्राविधिक शिक्षालय स्थापित छ, सरकारले तालिम प्रदान गरी सम्बन्धीत क्षेत्रमा सिपयुक्त श्रमिक पठाउन पहल गरे वैदेशिक रोजगारी पनि निकै राम्रो हुन्छ तर सरकारको बेवास्ताले श्रमिकहरुले अर्काको मुलुकमा पुगेर दुःख पाइरहेका छन्।’
‘खाडीको ४२ डिग्रिको तातो घाममा दैनिक १८ घन्टासम्म काम गर्दा पनि भनेजस्तो तलब नपाएका गुनासा श्रमिकबाट आउनुमा सरकारले सिप तथा तालिमको व्यवस्था गर्न नसक्नु हो,’ उनले भने।
एनआरएन जापानका प्रतिनिधि कपिल थापाले राम्रो अवसर भएका देशमा सरकारले कामदार पठाउन तदारुकता नदेखाएको बताए। 'सरकारले उपयुक्त देशबाट नेपाली कामदारहरुको माग आउँदा समेत कामदार पठाउने पहल गर्न नसक्दा नेपालीहरु खाडीमा पसिना बगाउन बाध्य छन्,' उनले भने।
उनले विगत सम्झँदै थपे ‘जापानले सन् १९५३ सालमा नै नेपालीकामदार प्रशिक्षार्थी कामदारका रुपमा लैजान प्रस्ताव पठाएको थियो तर त्यो प्रस्ताव नेपाल सरकारले बुझ्नै नसकेर त्यसै थन्कियो। विश्वकै शक्तिशाली मुलुक भनेर चिनिने चीनबाट वार्षिक २ लाख प्रशिक्षार्थी कामदारहरु जापान रोजगारीका लागि गइरहेका छन्। नेपाल सरकारले वेवास्ता गर्दा नेपाली कामदारहरुले राम्रो अवसर गुमाउनु पर्यो।’
जापानमा राम्रो काम र कमाई गर्न सक्ने वातावरण भएकाले नेपाली कामदारहरु जापान पठाउन सरकारले विशेष पहल गर्नुपर्ने उनी बताउँछन्।
जापानमा रोजगारीमा पठाउनु अगाडि नेपाली श्रमिकलाई जापान सरकारले तोकेको उद्योग, व्यवसाय, होटल, केयरगिभर, लगायत १४ क्षेत्रसम्बन्धी तालिमको व्यवस्था गरी पठाउन आबश्यक रहेको उनको भनाइ छ।
वैदेशिक रोजगार व्यवस्थापन शाखाका उपसचिव दिपक ढकालले भने वैदेशिक रोजगारीका सकारात्मक पक्ष पनि रहेको बताए। 'हामीले वैदेशिक रोजगारी का नराम्रा पक्षहरुमात्रै केलाइरहँदा वैदेशिक रोजगारीका सकारात्मक पक्षहरुलाई पनि मनन गर्न आवश्यक छ,' उपसचिव ढकाल भन्छन्, ‘जबसम्म आफ्नै देशमा युवा श्रम सिपको उपयोग गर्न सकिँदैन तबसम्म देशले विकासको गति हासिल गर्न सक्दैन तर नेपालमा तत्काल सबै युवाशक्तिलाई देशभित्रै परिचालन गर्ने र वैदेशिक रोजगारी अन्त्य गर्ने भन्ने कुरा सम्भव छैन।’
सरकारले वैदेशिक रोजगारीमा जाने युवाहरुको सिप विकासमा जोड दिई रोजगारीका लागि सुरक्षित गन्तव्यको खोजी गरिरहेकाले अब वैदेशिक रोजगारीका समस्या केही हदसम्म कमी आउने उपसचिव ढकाल बताउँछन्।
वैदेशिक रोजगारीको खोजीमा खाडीलगायतका विभिन्न मुलुकमा दैनिक १ हजारभन्दा बढी युवाहरु बाहिरिने गरेका छन्।
जसमा पनि ७० प्रतिशत भन्दाबढी अदक्ष कामदार खाडी लगायतका विभिन्न मुलुकमा पुग्ने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ।
कतार, युएई, साउदी, ओमान, बहराइन, दक्षिण कोरिया, जापान लगायत मुलुक नेपाली युवाहरुको गन्तव्य मुलुकका रुपमा रहँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।