काठमाडौं- इटालिएन ठेकदार कम्पनी 'सिएमसी'ले अघिल्लो महिना तनहुँ जलविद्युत आयोजनाको काम छाेडेर भागेपछि पहिलो चरणको बाँकी काम सक्न नयाँ ठेक्का प्रकृया अगाडि बढाइएको छ।
पहिलो चरणमा बाँध निर्माणलगायतका काम सक्काउन दोश्रो पटक ठेक्का प्रकृया अगाडि बढाइएको हो। यसअघि ठेक्का पाएको सिएमसीले निर्माण कार्य सम्पन्न नगर्दै एकतर्फी ठेक्का तोडर आयोजनाबाट बाहिरिएको थियो। आयोजनाको दोश्रो चरणको काम भने चिनियाँ कम्पनी 'सिने हाइड्रो लिमिटेड'ले गरिरहेकाे छ। दोश्रो चरणमा सुरुङमार्ग निर्माण, विद्युतगृह निर्माण र उपकरण जडानको काम सिने हाइड्रोले गर्नेछ।
आर्थिकरुपमा टाट पल्टिएको कारण देखाउँदै सिएमसीले आयोजनामा काम गर्न नसक्ने जनाएको थियो। पछिल्लो समय लगानी र आयोजना निर्माण कै विषयमा अदालतमा मुद्दासमेत दर्ता गरेको सिएमसीलाई आयोजनाबाट निकाल्ने गरी तनहुँ जलविद्युत कम्पनीले एकतर्फी निर्णय गरेको हो।
‘मेलम्चीमा काम छाडेर भागेपछि तनहुँ जलविद्युत आयोजनालाई के गर्ने भन्ने विषय उठेको थियो। काम नै नगर्ने भएपछि ठेक्का तोड्नुको विकल्प थिएन’, उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले भने, ‘सिएमसीले काम छाडेपछि अर्को कम्पनीलाई ठेक्का लगाउनुको विकल्प हामीसँग थिएन। त्यसका लागि कागजी प्रकृया चलिरहेको छ। केही समयभित्रै नयाँ कम्पनी छनोट भएर काम सुरु हुन्छ’, अर्यालले भने।
१ सय ४० मेगावाट उत्पादन क्षमताको उक्त आयोजना सन् २०२३ सम्ममा निर्माण गरिसक्ने लक्ष्य लिइएको छ। आयोजना निर्माणको पहिलो चरणमा नै ठेकेदार कम्पनीले काम छाडेको र नयाँ कम्पनी छनोट गर्दा समय लाग्ने भएका कारण निर्माणको काम समयमै सम्पन्न गर्न थप चूनौतीपूर्ण हुने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।