काठमाडौं- सुनसरीको धरान उपमहानगरपालिकाले 'कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजना' निर्माणमा गर्दै आएको अवरोध हटेको छ।
उपमहानगरपालिकाले गत मंसिरबाट गर्दै आएको अवरोध हटेपछि बिहीबारबाट विष्णुपादुका क्षेत्रमा प्रसारण लाइन निर्माणको काम सुचारु भएको छ। आयोजनाको प्रस्तावित रुटबाटै प्रसारण लाइन निर्माण गर्न उपमहानगरपालिका सहमत भएपछि काम सुरु गरिएको आयोजना प्रमुख राजन ढकालले जानकारी दिए।
‘१७ वटा टावर निर्माणमा अवरोध थियो, पटक-पटक भएको छलफलबाट वडाध्यक्षलगायत प्रस्तावित रुटबाटै प्रसारण लाइन लैजान दिन तयार भएपछि निर्माण सुरु गरिएको छ', ढकालले भने, 'प्रभावलाई न्यूनीकरण गर्न आयोजनाले स्थानीय रुपमा गर्न सक्ने सामुदायिक विकासका कार्यक्रमहरु सञ्चालन गरिने छ।’
समस्या समाधानका लागि १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले पहल गरेका थिए। उनले उपमहानगरपालिका प्रमुख, वडाध्यक्ष, त्यस क्षेत्रका संघ तथा प्रदेशका सांसद लगायतसँग पटक-पटक छलफल गरेका थिए। उनले प्रसारण लाइन रहने क्षेत्रको स्थलगत निरीक्षणसमेत गरेका थिए।
धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले गत मंसिर २८ गते प्रस्तावित रुटबाट प्रसारण लाइनको निर्माण गरिएमा उपमहानगरपालिका–२० को विष्णुपादुका क्षेत्रमा स्थापित, निर्माणाधीन र पहिचान भएका पर्यटकीय स्थलहरुलाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा नकारात्मक असर पर्ने भन्दै त्यसलाई करिब २ सय मिटर पश्चिमबाट लैजान नेपाल विद्युत प्राधिकरणलाई लिखितरुपमै आग्रह गरेकी थिइन्। त्यसपछि आयोजनाको निर्माण रोकिएको थियो।
प्राधिकरणले उपमहानगरपालिकाले भनेजस्तो कुनै प्रसारण लाइनमा कुनै असर नपर्ने, प्रसारण लाइनको निर्माणमा ढिलाई भएमा हाल निर्माणाधीन अवस्थामा रहेका जलविद्युत आयोजनाहरुबाट उत्पादन हुने अनुमानित ५५० मेगावाट विद्युत खेर जाने अवस्था आउने, यसबाट राष्ट्रलाई क्षति पुग्ने, प्रवर्द्धकहरुलाई क्षतिपुर्ति लगायतको अवस्था रहेको भन्दै रुट परिवर्तन गर्न अस्विकार गर्दै आएको थियो।
उपमहानगरपालिकाले उठाएका विषयलाई प्रसारण लाइनले कुनै असर नगर्ने, असर पर्ने केही क्षेत्रहरुलाई लाइनको 'चेक सर्भे' गर्ने क्रममा सम्वाेधन गरिसकिएको र सम्पूर्ण प्रकृया पूरा गरी निर्माण भइरहेको आयोजनाको रुट सार्न नसकिने अडान प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राख्दै आएका थिए।
गत पुसमा १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा धरानमा भएको सरोकारवालाको भेलाले समस्या पहिचान गरी र समाधानका उपाय खोज्न कार्यदल गठन गरेको थियो। सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा गठित कार्यदलमा वडाध्यक्ष, आयोजना प्रमुख, उपमहानगरपालिका इन्जिनियर, सरोकार समिति, ठेकेदार तथा परामर्शदाता कम्पनी, स्थानीय राजनीतिक दलबाट एक/एक जना प्रतिनिधि थिए।
कार्यदलले रुट परिवर्तन गर्न नसकिने प्रतिवेदन दिएको थियो। तर, यसमा राजनीतिक दल र सरोकार समितिका प्रतिनिधिले हस्ताक्षर गरेका थिएनन्।
प्राधिकरणले अहिले प्रसारण लाइनको रुट भेडेटार–छोटी, मोरङ–सर्दू जलाधार क्षेत्र–तमाखाम–सालबोटे–चिण्डे डाँडा–भञ्ज्याङ–गोर्खा मेमोरियल पार्क–जलकन्या सामुदायिक वन हुँदै लैजाने प्रस्ताव गरिएको छ। अब सोही रुट हुँदै प्रसारण लाइनको निर्माण हुनेछ।
नेपाल सरकार, प्राधिकरण र भारतीय एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा एक नम्बर प्रदेशमा भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी करिडोरको निर्माण गर्न लागिएको हो। प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५ सय १६ मेगावाट विद्युत यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत खरिद सम्झौता (पिपिए) गरिसकेको छ। ती आयोजना निर्माणको विभिन्न चरणमा छन्। प्राधिकरणले प्रसारण लाइन निर्माण गर्न नसकेमा ती आयोजनाबाट उत्पादित विद्युत खेर जाने अवस्था छ।
करिडोरको पहिलो प्याकेजमा इनरुवा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार १ सय ५ किलोमिटर लामाे २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण जुन २०१९ मा सक्ने लक्ष्यका साथ काम भइरहेको छ।
३ सय २० वटा टावरमध्ये २ सय १० वटाको जग हालिएको र ९० वटा खडा गरिसकिएको आयोजना प्रमुख ढकालले जानकारी दिए। अब केही दिनमै तार तान्न पनि सुरु हुने उनले बताए। यसको अनुमानित लागत ३ करोड ७५ लाख अमेरिकी डलर छ।
दोस्रो प्याकेजको इनरुवा, वसन्तपुर, वानेश्वर र तुम्लिङटारमा २ सय २० केभीको सबस्टेसन निर्माण फेब्रुअरी २०२० मा सक्ने लक्ष्यका साथ काम भइरहेको छ। यो प्याकेजको अनुमानित लागत २ करोड ५३ लाख डलर छ।
तेस्रो प्याकेजमा वसन्तपुर–ढुंगेसाँघु (ताप्लेजुङ) ३३ किलोमिटर प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भइसकेको छ। २ करोड २० लाख डलर अनुमानित लागत रहेको आयोजनाको काम डिसेम्बर २०२० मा सक्ने लक्ष्य राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।