काठमाडौं– उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बागमती जलाधार नदी संरक्षण परियोजनाको स्थलगत अनुगमन गरेका छन्
मन्त्री पुन सिँचाइ मन्त्रालयका सचिव डा सञ्जय शर्मासहित शनिबार परियोजनास्थल पुगेका हुन्। मन्त्री पुनले मन्त्रालयअन्तर्गतका जलविद्युत परियोजना र सिंचाइका आयोजनाको निरीक्षणका लागि बिदाको दिन समेत अनुगमनमा निस्किँदै आएका छन्।
उनले आयोजनाको अवस्था र मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहयोगको बारेमा आयोजनाका अधिकारीसँग छलफल गरेका थिए। मन्त्री पुनले आयोजनास्थलमा आयोजित छलफलमा बागमती सम्पदासँग जोडिएकोले यो आयोजना समयमा बनाउनुपर्नेमा जाेड दिए।
'यो नयाँ आयोजना पनि हो, हामीले राष्ट्रिय गौरव र विशेष महत्वको आयोजनालाई प्राथमिकतामा राखेका छौं’, उनले भने, 'जिम्मेवारीपूर्ण तरिकाले काम गर्नुस्।' बागमती सभ्यतासँग जोडिएको आयोजना भएकाले पनि यसमा सबैको चासो रहेको भन्दै मन्त्री पुनले छिटोभन्दा छिटो काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए।
‘यो परियोजनामा सबैको चासो छ, काठमाडौंमा धेरै मानिसहरुलाई यसले प्रत्यक्ष प्रभाव पनि पार्छ। त्यसैले यसमा जिम्मेवारीका साथ काम गर्नुहुन्छ भन्ने मेरो विश्वास छ,’ मन्त्री पुनले थपे। उनले मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहजीकरणमा कुनै कमी नहुने भन्दै समयमै पुरा गर्नेतर्फ ध्यान दिन निर्देशन दिए।
मन्त्री पुनले निर्माणको जिम्मा पाएको कम्पनीलाई समयमा काम सम्पन्न गर्न आग्रह गरे। उनले निर्माण व्यवसायीहरुले काम समयमा नगर्दा राज्य र सरकारमाथि प्रश्न उठ्ने गरेकाे भन्दै जिम्मेवार बन्न आग्रह गरे।
काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा रहेको उक्त परियोजना सम्पन्न भइसकेपछि बागमती सफाइमा सहयोग पुग्ने विश्वास लिइएको छ। आयोजना प्रमुख नवराज सुवेदीका अनुसार उक्त ड्याम निर्माण भइसकेपछि पानी जम्मा गरेर हिउँदमा बागमतीमा पठाउने तयारी छ।
नदी प्रवाहका लागि एउटा मुख्य जलाशाय र २ वटा सहायक जलाशाय निर्माण कार्य भइरहेको परियोजनाका प्रमुख नारायण सुवेदीले जानकारी दिए। ८ लाख ५० हजार घनमिटरको मुख्य जलाशाय निर्माण हुने पनि परियोजनाले जनाएको छ। परियोजनाका प्रमुख सुवेदीले सो परियोजनाको कामलाई अघि बढाउन आवश्यक जनशक्तिको पनि व्यवस्था गरिदिन मन्त्री पुनको ध्यानाकर्षण गराए।
यता , निर्माण कम्पनी गोन्जाओ–लामा–रमण जेबीअन्तर्गत रमण कन्सट्रक्सनका प्रमुख रमण महतोले जलाशाय निर्माणको काम ४५ प्रतिशत सम्पन्न भएको जानकारी दिए।
सुन्दरीजलमाथि रहेको चिसापानी क्षेत्रमा बागमती नदीको प्रवाहलाई निरन्तरता दिन निर्माण गरिएको सो परियोजना सन् २०२० को फेब्रुअरी महिनाभित्र काम सम्पन्न गरिसक्ने लक्ष्य छ।
एसियाली विकास बैंकको सहयोगमा सन् २०१५ मा यो परियोजना निर्माण कार्य सुरु गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।