पोखरा- पोखराको गैह्रापाटनमा नाटकघर पोखरा थिएटरको निर्माण पूरा भएको छ।
भवनको सम्पूर्ण निर्माण कार्य पूरा भइसके पनि भित्री भागमा प्रकाश व्यवस्थापन र केही काम मात्र बाँकी रहेको थिएटरले जनाएको छ। डेढ रोपनी क्षेत्रफलको जग्गामा बनेको थिएटर करिब ७० लाख रुपैयाँको लगानीमा निर्माण भएको अध्यक्ष परिवर्तनले बताए।
कला र साहित्यका लागि उर्वरभूमि मानिने पोखरामा एउटा थिएटर समेत नभएकाले त्यो रिक्तता मेट्न नाटकघर बनाएको उनको भनाइ छ।
'पोखराको प्रतिष्ठा बचाउनु थियो, यसका साथै आफ्नो रुचिको क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने सोच लिएर अघि बढेका हौं', उनले भने।
थिएटरमा परिवर्तनका साथै पत्रकार दिलु गुरुङ र समाजसेवी शंकरनाथ कोइरालाले लगानीको व्यवस्था मिलाएका थिए । थिएटर गैरनाफामूलक संस्थाका रुपमा जिल्ला प्रशासन कार्यालय, कास्कीमा दर्ता गरिएको छ।
पोखरा थिएटरले पहिलो समूहको अभिनय कार्यशालाका लागि भर्ना लिन सुरु गरेको छ । मंसिर १ गतेदेखि सुरु हुने ३ महिने कार्यशालामा मण्डला थियटर काठमाडौंका निर्देशक तथा कलाकार राजन खतिवडाले सहजीकरण गर्ने र पोखराका अन्य रंगकर्मीहरुले पनि कक्षा लिने बताइएको छ।
कार्यशालाबाट प्रशिक्षित कलाकारहरु र अन्य स्थापित कलाकारहरुको सहभागितामा थिएटरले पहिलो नाटक मञ्चन गर्ने लक्ष्य लिएको सञ्चालक दिलु गुरुङले बताए।
पोखरामा नाटकघर नहुँदा पोखरा उद्योग वाणिज्य संघ र सभागृहको हलमा नाटक देखाउनुपर्ने बाध्यता थियो। नयाँ नाटकघर बनेसँगै त्यो बाध्यता हट्ने रंगकर्मीहरुको अपेक्षा छ।
अग्रज र नयाँ रंगकर्मीहरुको साझा थलोका रुपमा पोखरा थिएटरलाई विकास गर्ने योजना अध्यक्ष परिवर्तनले सुनाए।
‘निस्क्रिय रहेका पुराना रंगकर्मीलाई पनि पुनरागमन गराउने र नयाँलाई पनि प्लेटफर्म प्रदान गर्ने हाम्रो सोच छ’ उनले भने।
थिएटर नाटक मञ्चनका साथै बहुद्देश्यीय प्रयोजनका लागि प्रयोग गर्न सकिने गरी बनाइएको निर्माण पक्षको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।