म्याग्दी- सदरमुकाम बेनीबजारदेखि आधा घण्टाको दूरीमा रहेको मायालु डाँडा (लभ्ली हिल) मा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ।
बेनी नगरपालिका–२ खबरामा रहेको मायालु डाँडामा रेलिङ, गोलघर, खाजाघर लगायत पूर्वाधार निर्माण गरिएपछि पर्यटक जाने क्रम बढेको हो। गत आर्थिक वर्षमा १२ लाख रुपैयाँ खर्चेर ती पूर्वाधार बनाइएको हो।
खबरा गाउँ नजिकै रहेको ‘खाराको डाँडो’ अहिले लभ्ली हिल बन्न पुगेको हो। मायालु डाँडा खासगरी युवायुवतीबीच भेटघाट स्थलका रुपमा परिचित छ।
डाँडाबाट चारैतिरको प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ भने बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, पुलाचौर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाज लगायत क्षेत्र देख्न सकिन्छ। यहाँबाट बेनी बजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदी समेत अवलोकन गर्न सकिन्छ। साथै, उत्तरी पर्वतको जलजला गाउँपालिकासहित धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य समेत हेर्न पाइन्छ।
मायालु डाँडालाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी गन्तव्य स्थलका रुपमा विकास गरिनुपर्ने जिल्लाका पर्यटन व्यवसायी बताउँछन् । यहाँ पुग्न पदमार्गको निर्माण गर्नुपर्ने बेनीका बासिन्दा सुझाउँछन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।