काठमाडौं– उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि चेक रिपब्लिकका आवासीय राजदूत मिलन हेवोर्काबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित उर्जा मन्त्रालयमा शुक्रबार भएको भेटवार्तामा द्धिपक्षीय हितको विषयमा छलफल भएको थियो।
भेटमा उर्जामन्त्री पुनले नेपाल र चेक रिपब्लिकको बीचमा धेरै समानता रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध थप सुमधुर हुने विश्वास व्यक्त गरे। उनले अन्तर्राष्ट्रिय फोरमहरुमा समेत दुबै देशको बीचमा समान धारणा र सहकार्य रहँदै आएको भन्दै आगामी दिनमा पनि थप सहकार्य हुने बताए।
मन्त्री पुनले वेस्ट म्यानेजमेन्ट, स्मार्ट मिटर र स्मार्ट ग्रिडको क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा समेत राजदूत मिलनसँग छलफल गरेका थिए। उनले विदेशी लगानीका लागी नेपालमा उपयुक्त वातावरण बनेको भन्दै चेक रिपब्लिकका लगानीकर्ताहरुलाई समेत नेपालमा लगानीका लागि आह्वान गरे।
‘विदेशी लगानीलाई सहयोग पुग्ने गरी हामीले कानुन निर्माण गरेका छौं, अहिले लगानीका लागि समेत उपयुक्त वातावरण छ, तपाईंमार्फत चेकका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्न चाहन्छु’, मन्त्री पुनले भने।
भेटमा चेक राजदूत हेवोर्काले चेक रिपब्लिक र नेपालबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध अझै सुमधुर हुने विश्वास व्यक्त गरे। उनले वेस्ट म्यानेजमेन्ट, स्मार्ट मिटर र स्मार्ट ग्रिडको क्षेत्रमा काम गर्न चेक कम्पनीहरु इच्छुक रहेको बताए। साथै एक सय मेगावाटसम्मको जलविद्युत परियोजनामा लगानी गर्न चेक कम्पनीहरु इच्छुक रहेको जानकारी समेत उनले दिए।
‘सौर्य उर्जा र जलविद्युतको क्षेत्रमा काम गर्न केही चेक कम्पनीहरु इच्छुक छन्, नेपाल सरकारले त्यसको लागी हामीलाई वातावरण बनाइदिनुपर्याे, हामी नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्न चाहन्छौ’, राजदूत हेवोर्काले भने।
उहाँले त्यसका साथै सिँचाइ, पानी र आधुनिक पम्पको क्षेत्रमा पनि सहकार्य गर्न सकिने धारणा व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।