काठमाडौं- वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका युवाहरुलाई सामाखुसीमा रहेको ग्रेस म्यानपावर प्रालिले राम्रो काममा कामदारको डिमान्ड आएको सुनायो। दुबईको हटप्याक नामक कम्पनीमा मासिक १५ सय दिनारभन्दा बढी कमाइ हुने बताएपछि युवाहरु उत्साहित बने।
काम र कमाइ पनि निकै राम्रो सुनेपछि बेरोजगार युवाहरु दुबई जान तयार भए। त्यसका लागि उनीहरुले प्रतिव्यक्ति १ लाखदेखि डेढ लाखसम्म रकम बुझाएका थिए।
५२ जना कामदारबाट प्रतिव्यक्ति ५० हजारदेखि डेढ लाखसम्म रकम असुल गर्दा ६० लाखभन्दा बढी रकमको कारोबार भएको वैदेशिक रोजगार विभागले जनाएको छ।
म्यानपावरका एजेन्ट रमेशकुमार विष्टले ती युवालाई भिसा र टिकटसमेत उपलब्ध गराएका थिए।
विष्टले कामदारलाई ८ जनाको समूह बनाएर दुबई उडाउने भन्दै चैत १० गते आइतबार राति युएई जानका लागि ८ नेपाल एयरलायन्सको टिकट उपलब्ध गराई विमानस्थल बोलाए। टिकटसमेत पाइसकेका युवाहरुलाई जब विमानस्थलका कर्मचारीले केरकार गर्न थाले, तब उनीहरुले थाहा पाए- सबै डकुमेन्ट नक्कली रहेछन्।
आफूहरु यसरी ठगिएपछि म्यानपावर कम्पनी तथा एजेन्टलाई कारबाही गरी आफूहरुलाई क्षतिपूर्ति दिलाउन वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन्।
विभागमा उपस्थित हुन म्यानपावर कम्पनीलाई २४ घन्टे पत्र काटे पनि म्यानपावर सञ्चालक उपस्थित नभएको विभागका निर्देशक हरिप्रसाद ज्ञवालीले जानकारी दिए। म्यानपावर कम्पनीको सबै कारोबार रोक्का गरिसकिएको विभागले जनाएको छ।
कामदारहरुलाई नक्कली डकुमेन्ट दिलाउने विष्ट भने फरार छन्।
म्यानपावरबाट ४७ थान पासपोर्ट बरामद
ठगिएका युवाहरुले विभागमा उजुरी गरेपछि विभागले उक्त कम्पनीमा छापा मार्यो। सो क्रममा ४७ थान पासपोर्टसहित अन्य कागजात बरामद गरिएको विभागका निर्देशक ज्ञवालीले जानकारी दिए।
‘हामीले पीडितको माग बमोजिम म्यानपावरबाट बरामद गरिएका पासपोर्ट फिर्ता दिइरहेका छौं, म्यानपावरको ठगीका बारेमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने।
वैदेशिक रोजगार व्यवसायी संघका अनुसार केन्द्रप्रसाद डाँगी र राजीव शाहीका नाममा रहेको उक्त म्यानपावर कम्पनीका सञ्चालक परिवर्तन भइसकेका छन्। सञ्चालक परिवर्तन भए पनि वैदेशिक रोजगार विभागमा भने पुरानै सञ्चालकका नाममा उक्त म्यानपावर कम्पनी दर्ता छ। ठगीमा संलग्न रमेश विष्ट नयाँ सञ्चालकले एजेन्टको रुपमा राखिएका व्यक्ति भएको खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।