काठमाडौं– उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि जर्मन राजदूत रोलान्ड सेफरबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित उर्जा मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा द्विपक्षीय हितको विषयमा छलफल भएको थियो।
भेटमा उर्जामन्त्री पुनले जर्मनीले उर्जा र वैकल्पिक उर्जाको क्षेत्रमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे। उनले भर्खरै मात्र सम्पन्न भएको लगानी सम्मेलन ऐतिहासिक रहेको भन्दै अब कार्यान्वयन प्रक्रियाको थालनी चाँडै हुने विश्वास दिलाए।
मन्त्री पुनले 'स्माट मिटर' र 'स्मार्ट ग्रिड' सरकारको प्राथमिकतामा रहेको जानकारी दिए। ‘स्माटर मिटर र स्माट ग्रिड सरकारको प्राथमिकतामा छ, काठमाडौंमा भूमिगत केवलिङको काम समेत सुरु भइसकेको छ’, मन्त्री पुनले भने।
भेटमा नेपालको विभिन्न क्षेत्रमा जर्मनीले गरेको सहयोगप्रति धन्यवाद दिंदै उनले आगामी दिनमा पनि द्विपक्षीय सम्बन्ध मजबुत हुने विश्वास व्यक्त गरे।
भेटवार्ताका क्रममा जर्मन राजदूत सेफरले उर्जा र वैकल्पिक उर्जाको क्षेत्रमा सहयोग गर्न जर्मन इच्छुक रहेको धारणा राखे। उनले 'स्मार्ट ग्रिड'को अवस्थाका बारेमा समेत चासो व्यक्त गर्दै जर्मनी यसमा सहयोग गर्न तयार रहेको बताए।
राजदूत सेफरले लगानी सम्मेलन भव्यरुपमा सम्पन्न भएको भन्दै अब कार्यान्वयनको पाटोमा जोड दिनुपर्ने उल्लेख गरे।
राजदूत सेफरले नेपालको शान्ति प्रक्रिया विश्वमै सफल रहेको धारणासमेत राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।