काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवलाई १५ दिनभित्र घर खाली गर्न सार्वजनिक सूचना जारी भएको छ।
ललितपुर महानगरपालिका-४ बागडोलमा बस्दै आएका यादवलाई घरधनी रविभक्त विष्टले घर खाली गरिदिन आज राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरेका हुन्।
गत साउन १ गतेदेखि राष्ट्रपति कार्यालय र पूर्वराष्ट्रपतिले आफ्नो घरको घरबहाल सम्झौता नवीकरण नगरेको जनाउँदै १५ दिनभित्र घर छोड्न उनले अल्टिमेटम दिएका हुन्।
आफ्नो घर बहाल र बिजुली महसुलसमेत नतिरी जबरजस्ती बस्ने/बसाउने कार्य भइरहेको उल्लेख गर्दै उनले यसअघि राष्ट्रपति कार्यालय र पूर्वराष्ट्रपतिलाई पटकपटक लिखित सूचना दिए पनि सुनुवाइ नभएको बताएका छन्।
उनले १५ दिनभित्र हालसम्मको बहाल र बिजुली महसुल भुक्तानी गरी घर खाली नगरे कानुनी कारबाहीतिर अघि बढ्नेसमेत उल्लेख गरेका छन्।
पूर्वराष्ट्रपति डा यादव २०७२ कात्तिक १२ देखि सो घरमा बस्दै आएका छन्।
पूर्वराष्ट्रपतिको अपमान हुनेगरी पटकपटक यस किसिमको सूचना सार्वजनिक सञ्चारमाध्यममा आउने गरेको छ।

आजको नागरिक दैनिकमा प्रकाशित सूचना
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।