बेइजिङ : ब्रिक्स राष्ट्रको बेइजिङमा भइरहेको सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच मंगलबार द्विपक्षीय वार्ता भएको छ।
दुवैबीच भुटान–चीन सीमा क्षेत्रको डोक्लाममा उत्पन्न तनावपछि दुवै नेताबीच पहिलोपल्ट भेटवार्ता भएको हो।
यसअघि सोमबार मोदी–सिले निकै जोसिलो हात मिलाएका थिए। मंगलबार दुवैबीच एक घन्टा लामो वार्ता भएको भारतीय विदेश सचिव एस जयसंकरले जानकारी दिए । उनका अनुसार वार्ता सकारात्मक भयो । वार्तामा दुवै नेताले आपरी सम्बन्ध सुदृढ बनाउने र अघि बढ्न सहमत भएको जयसंकरले बताए।
जयसंकरका अनुसार दुवैबीच पहिले ब्रिक्ससँग जोडिएका विषयमा र त्यसपछि भारत–चीन सम्बन्धबारे वार्ता भएको थियो । उग्रवादबारे मोदी–सिबीच कुनै वार्ता नभएको जयसंकरले बताए । उनका अनुसार उग्रवादबारे ब्रिक्समा भएको छलफलमा सबै सदस्य सहमत भएर पाकिस्तानमा बसेर भारतमा आतंकवादी गतिविधि सञ्चालन गर्ने जैस–ए–मोहम्मद र लस्कर–ए–तोइबालाई आतंकवादी संगठन भएको उल्लेख गरेका थिए।
मोदी–सि वार्ताका मुख्य कुरा :
– गत जुनमा अस्टानामा भएको भेटमा दुवै नेता आपसी मतभेद आउन सक्ने तर तिनले तनावको रुप नलिनेमा सहमत भएका थिए । यसैगरी परिवर्तित अन्तर्राष्ट्रिय सन्दर्भमा भारत–चीनले आपसी सम्बन्ध सुदृढ बनाउन पनि सहमति भएको थियो । यसपल्ट बेइजिङमा पनि यसमा दुवै नेताले सहमति जनाएका छन्।
– सुदृढ आपसी सम्बन्धका लागि सीमामा शान्ति हुनुपर्ने र अहिलेको परिस्थितिमा आपसी विश्वास अझै बलियो पार्न काम गर्नु आवश्यक।
– छिमेकी र एसियाका दुई ठूला शक्ति भएका नाताले दुवैबीच मतभेद हुनु स्वाभाविक हो । यस्तोमा शान्तिपूर्वक र आपसी सम्मान कायम राखी मतभेद सुल्झाउनु पर्छ र यसका लागि प्रयास गर्नुपर्छ।
– डोक्लाम तनावजस्तो स्थिति दोहोरिन नदिन दुवै देशका सैन्य अधिकारीबीचका वार्तालाई बढावा दिन आवश्यक छ।
– दुवै देशबीच आपसी सम्बन्ध सुदृढ पार्न ब्रिक्स र संयुक्त आर्थिक समूहजस्ता प्लेटफर्ममा समेत वार्ता गर्न आवश्यक।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।