काठमाडौं- राष्ट्रिय विकास परिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब भोकमरीले कोही पनि नमर्ने भन्दै भाषण गरिरहँदा सोही कार्यक्रममा राष्ट्रिय योजना आयोगले भने गरिबीको डरलाग्दो तथ्याङ्क प्रस्तुत गरेको छ।
योजना आयोगले पन्धौं पञ्चवर्षीय योजना र २५वर्षे दीर्घकालीन रणनीतिको आधारपत्र प्रस्तुत गर्दै नेपालमा बहुआयामिक गरिबीको दर २८ दशमलव ६ प्रतिशत रहेको तथ्याङ्क पेस गरेको हो।
योजना आयोगको तथ्याङ्कअनुसार सबैभन्दा धेरै कर्णाली प्रदेशमा ५१ दशमलव २ प्रतिशत बहुआयामिक गरिबी रहेको छ। त्यसैगरी प्रदेश नंम्बर २ मा ४७ दशमलव ९ प्रतिशत, सुदुर पश्चिम प्रदेशमा ३३ दशमलव ६ प्रतिशत, प्रदेश नंम्बर ५ मा २९ दशमलव ९ प्रतिशत, प्रदेश नंम्बर १ मा १९ दशमलव ७ प्रतिशत, गण्डकी प्रदेशमा १४ दशमलव २ प्रतिशत र प्रदेश नंम्बर ३ मा १२ दशमलव २ प्रतिशत जनता बहुआयामिक गरिबीको रेखामुनि रहेका छन्।
गरिबी सम्बन्धी यस्तो तथ्याङ्क देखिईरहँदा प्रधानमन्त्री ओलीले भने छोटो अवधिमा नै नेपालले विकासको फड्को मार्ने र गरिबी अन्त्य हुने धारणा राखेका छन्।
पन्ध्रौं पञ्चवर्षीय योजनाअन्तर्गत आगामी वर्षलाई आधार वर्षका रुपमा लिईएको भन्दै प्रधानमन्त्री ओलीले आउँदो वषदेखि विकासको गतिलाई रफ्तार दिईने बताए।
‘अहिलेका आर्थिक सूचक र तथ्याङ्क कसैले सुन्न चाहँदैन। तर ५ वर्षपछि त्यस्तो हुनेछैन। भोकमरी समाप्त हुन्छ, कोही भोकले मर्दैन। कुनै जादुले हुने कुरा होइन, हामी अनिवार्य रुपमा विकासको शर्तलाई पहिलो प्राथमिकता दिन्छौं,’ ओलीले भने।
विकास गर्न सरकारले धेरै समय नलिएको भन्दै उनले नेपाललाई विश्व समुदायले नै नियालिरहेको र मूल्याङ्कन गरिरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।