काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले चर्काएको सिंहदरबारको मुख्य भवनको पश्चिमी मोहडा पनि सबलीकरण (रेट्रोफिटिङ) गर्ने निष्कर्ष निकालेको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको विज्ञसहितको टोलीले तयार पारेको अध्ययन प्रतिवेदनमा भूकम्पले चर्काएको सिंहदरबारको मुख्य भवनको पश्चिम मोहडा पनि पुनर्निर्माण नभई सबलीकरण गर्दा हुने निष्कर्ष निकालेको हो।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले मंगलबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सो मोहडालाई पनि सवलीकरण गर्न सकिने निष्कर्ष निकालिएको जानकारी दिनु भएको हो। सबलीकरण गर्दा ८ दशमलव ८ रेक्टर स्केलको भूकम्प आउँदा पनि केही नहुने गरी डिजाइन तयार पारिएको पनि स्पष्ट पारे।
भूकम्पले चर्काएको सिंहदरबारको मुख्य भवनको सबलीकरणको काम आगामी बैशाख १५ गतेबाट सुरु गर्ने प्राधिकरणको योजना छ। बैशाख १५ गते भित्रबाट सो कामलाई अघि बढाउन टेन्डर आह्वान गरिसक्ने प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए।
यसअघि प्राधिकरणले सिंहदरबारको मुख्य भवनको पश्चिम मोहडाको भाग भने पुनर्निर्माण गर्ने तयारी गरेको थियो। तर अध्ययनले त्यसलाई पनि सबलीकरण गर्न सकिने देखिएको प्राधिकरणको दाबी छ। 'प्राधिकरणले हाल सिंहदरबारको मुख्य भवनको पूर्व, उत्तर र दक्षिणी भागको मर्मत, सम्हारको कामलाई भने तीव्रता दिएको छ। पूरानै कलाकृतिहरुको संरक्षण हुने गरी आवश्यक काठ, स्टिललगायतका सामग्रीहरु फेर्ने काम पनि भईरहेको छ,' प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले समितिमा भने।
प्राधिकरणले २ वर्ष भित्र रानी पोखरी र एक वर्ष भित्र काष्ठमण्डप पुनर्निर्माणको काम सम्पन्न गर्ने योजना पनि बनाएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले रानी पोखरीको पानीको सतह मिलाउने जिम्मा स्थानीय उपभोक्ता समितिलाई दिइएको पनि उल्लेख गरे।
काठमाडौंका विभिन्न पोखरीको सतह व्यवस्थापन गर्दै आएका स्थानीय उपभोक्ता समितिलाई रानी पोखरीको पानीको सतह मिलाउने जिम्मेवारी दिइएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले रानी पोखरीको पुनर्निर्माणको व्यवस्थापन गर्न काठमाडौं महानगरपालिका, पुरातत्व विभाग र स्थानीय उपभोक्ता समिति, विज्ञहरु रहेको समितिनै गठन गरेको छ। प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले अव रानी पोखरी पुनर्निर्माणको कामले पनि गति लिने बताए।
प्राधिकरणले चालू आर्थिक वर्ष भित्र निजी आवास पुनर्निर्माणको कामलाई सम्पन्न गर्ने लक्ष्य लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।