काठमाडौं- राष्ट्रिय विकास परिषदको बैठक बुधबारबाट सुरु हुने भएको छ। राष्ट्रिय योजना आयोगले तयार पारेको २५ वर्षे दीर्घकालीन सोचसहितको १५औं योजनाको आधारपत्रको मस्यौदालाई अन्तिम रुप दिन बुधबार (भोलि) र बिहीबार दुई दिन बस्ने गरी राष्ट्रिय विकास परिषदको बैठक बोलाइएको हो।
मुलुकलाई समृद्ध बनाउने सूचकसहितको १५औं योजनाको आधारपत्रलाई अन्तिम रुप दिन प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहनु भएको राष्ट्रिय विकास परिषदको बैठक बोलाइएको राष्ट्रिय योजना आयोगका प्रवक्ता डा. किरण रुपाखेतीले जानकारी दिए।
राष्ट्रिय विकास परिषद राष्ट्रिय योजनालाई अन्तिम रुप दिने सर्वोच्च निकाय हो।
१५औं योजनाको आधारपत्रको मस्यौदालाई अन्तिम रुप दिने गरी छलफल गर्न राष्ट्रिय परिषद बैठक बोलाइएको राष्ट्रिय योजना आयोगले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।
प्रधानमन्त्री ओलीको अध्यक्षतामा बस्ने परिषद बैठकमा उपप्रधानमन्त्री, मन्त्रीहरु, प्रमुख प्रतिपक्ष दलका नेता, प्रदेश सरकारका मुख्य मन्त्रीहरु, संघीय संसदका विषयगत समितिका सभापतिहरु, निजी क्षेत्र, विज्ञहरुसहित करिब ३ सय ५० जनाको सहभागिता रहने पनि आयोगका प्रवक्ता रुपाखेतीले बताए।
आयोगले ‘समृद्ध नेपालः सुःखी नेपाली’ बनाउने मुख्य लक्ष्यका साथ १५औं योजनाको आधार पत्रको मस्यौदा तयार पारेको हो।
मस्यौदालाई अन्तिम रुप दिन राष्ट्रिय विकास परिषदको बैठक बोलाइएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले पनि जानकारी दिए।
उनले भने, 'परिषद बैठकले आवश्यक सुझाव दिएपछि दीर्घकालीन सोचसहितको १५औं योजनाको आधार पत्र बैशाख पहिलो हप्ता भित्र सार्वजनिक गरिसक्नेछ।'
आयोगले तयार पारेको १५औं योजनाको आधार पत्रको मस्यौंदामा कृषि, उर्जा, खनिज र पर्यटन क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने उल्लेख गरिएको छ।
२५ वर्षे दीर्घकालीन सोचसहितको सो आधार पत्रको मस्यौदामा ५ वर्ष भित्र मुलुकमा समृद्धको सृजना गर्ने, १० वर्ष भित्र समृद्धिका लागि आवश्यक काममा तीव्रता दिने कार्यक्रम पनि समावेश गरिएको आयोगका प्रवक्ता डा. रुपाखेतीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।