निर्मला घिमिरे/काठमाडौं- वैदेशिक रोजगार बोर्डको व्यवस्थापनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबारदेखि स्थापना भएको कलसेन्टरमा वैदेशिक रोजगार सम्बन्धी गुनासाहरु आउन थालेका छन्।
कलसेन्टर उद्घाटनकै दिन हिजो सोमबार दुई सयभन्दा बढी गुनासा आएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए। उनले भने, ‘गुनासो, उजुरी, सुझाव र विभिन्न समस्या राख्नका लागि कलसेन्टरमा सेवाग्राहीको निकै आकर्षण बढेको छ।’
आन्तरिक रोजगारका साथै वैदेशिक रोजगार सम्बन्धी उजुरी तथा गुनासा आउने गरेको कलसेन्टरले जनाएको छ। समस्यामा परेका श्रमिकका गुनासा तत्काल सुनुवाइ गरी सहजीकरणका लागि पहल गर्न कलसेन्टर सञ्चालनमा ल्याइएको मन्त्री विष्ट बताउँछन्।
मलेसिया र जापान रोजगारीबारे चासो
कलसेन्टर सुरु भएसँगै जापान र मलेसियाको रोजगारीबारे निकै चासोपूर्वक जिज्ञासा आउने गरेका छन्। 'मलेसिया रोजगारी कहिले खुल्छ? जापानी षा कसरी कहाँ अध्ययन गर्नुपर्ने हो?, जापान जान कति शुल्क लाग्छ लगायतका जिज्ञासा आइरहेका छन्,' कलसेन्टरकी कर्मचारी मिथिला लुइँटेलले भनिन्, 'म्यानपावरले ठगी गरेका र विभिन्न समस्याबारे गुनासा आएका छन्।'
कलसेन्टरमार्फत मन्त्रालयले मुख्य गरी वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय, प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कोषका साथै मन्त्रालय मातहतका अन्य निकायबाट भइरहेका काम कारबाही बारे जिज्ञासा राख्ने, सरोकारवालालाई जानकारी दिने, रचनात्मक सुझाव प्राप्त गर्ने र गुनासा सुनुवाइ गरी तत्काल समस्या समाधानका लागि पहल गरिने बताइएको छ।
सेवाग्राहीहरुले राखेका गुनासा वा उजुरी सुनुवाइ नभएको खण्डमा श्रम गोकर्ण विष्टको मोबाइलमा मेसेज जाने गरी व्यवस्था मिलाइएको जनाएको छ।
कलसेन्टरमार्फत कस्ता समस्या राख्ने?
वैदेशिक रोजगारीका क्षेत्रमा ठगी लगायत समस्यामा परी न्यायको खोजीमा रहेका सम्पूर्ण सेवाग्राहीलाई कलसेन्टरमार्फत समेटिने जनाइएको छ।
विदेशमा अलपत्र परेका, स्वास्थ्य समस्याबाट पीडित भई घर फर्कन चाहने, विविध कारण मृत्यु भई अलपत्र शवहरु ल्याउन नसकेमा, झुटा मुद्दामा जेल सजाय पाइरहेका श्रमिकहरुका सम्बन्धमा समस्या राख्न पाउने व्यवस्था गरिएको छ। जेल सजाय पाएका श्रमिकलाई नि:शुल्क कानुनी सहायता उपलब्ध गराउनुका साथै सिप विकास तथा अभिमुखीकरण तालिमको व्यवस्थासमेत गरिने जनाइएको छ।
चौबीसै घन्टा सेवा सञ्चालनको तयारी
श्रमिकहरुको गुनासो सुनुवाइका लागि कलसेन्टरमार्फत चौबीसै घन्टा सेवा दिइने गरी तयारी गरिएको छ। कलसेन्टर अहिले हरेक दिन बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालनमा छ। आवश्यकताका आधारमा २४ घन्टा ने सेवा दिन सक्ने गरी व्यवस्था गरिएको मन्त्री विष्टले बताए।
कलसेन्टरमा कसरी गुनासो वा सुझाव राख्ने?
स्वदेशमा भएका श्रमिकहरुले टोल फ्री नम्बर ११४१ वा १६६००१५०००५ मार्फत आफ्ना गुनासा तथा सुझावहरु राख्न सक्नेछन्। त्यस्तै विदेशमा भएका श्रमिकहरुले आफ्ना समस्या वा सुझाव इमेल, फेसबुक, मेसेन्जर, भाइबर, इमो जस्ता अनलाइन नेटवर्कबाट राख्न पाउने गरी व्यवस्था मिलाइएको छ।
विदेशमा हुने श्रमिकका लागि नि:शुल्क अनलाइन नेटवर्क ९७७१५९७०००८ नम्बरको व्यवस्था गरिएको छ। यो नम्बरमा टेलिफोनमार्फत गुनासा वा सुझाव राख्न परेमा शुल्क लाग्ने जनाइएको छ। फेसबुकमार्फत facebook.com/molcallcenter,ट्विटरमा twitter.com mole–callcenter मा गुनासा मेन्सन गर्न सकिनेछ।
इमेल [email protected] मा पनि गुनासा, सुझाब वा समस्या पठाउन सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।