दिनेश शर्मा/राजविराज– डिभिजन वन कार्यालय सप्तरीले मनोमानी गर्न थालेको आरोप लगाउँदै सप्तकोशी नगरपालिकाका स्थानीयवासीले कञ्चनपुर–फत्तेपुर सडकखण्डमा एक घण्टा चक्काजाम गरेका छन्।
गंगाजली पुलमै बसेर दिउँसो २ वजेदेखि सुरु गरिएको चक्काजाम प्रहरी र नगरपालिकाको पहलमा ३ बजेपछि खुलेको थियो।
कानुनी जटिलताका कारण नदिजन्य पैदावारमा कस्को स्वामित्व रहने भन्ने अन्यौलताले नदिजन्य पैदावार निकासी रोकिएको सप्तकोशी नगरपालिकाका मेयर उत्तमकुमार गौतमले बताए। एक साताभित्र नागरिकका आधारभुत अवश्यक्ताका लागि वालुवा÷गिट्टि निकासीको पहल गरिने उनको प्रतिवद्धतापछि यातायात सञ्चालनमा आएको छ।

कानुनी जटिलता देखाएर विकास निर्माण तथा सर्वसाधारणको आधारभुत आवश्यक्ताका काम समेत रोकेको डिभिजन वन कार्यालयले आफैं बालुवा/गिट्टी निकाल्न थालेपछि स्थानीयबासी आक्रोशित भएको सञ्जय खड्गाले बताए।
‘कानुनी दफा लगाएर जनतालाई शौचालय बनाउने बालुवा समेत निकाल्न दिइएको छैन,’ आक्रोशित हुँदै खड्गाले भने, ‘वन कार्यालय र कर्मचारीले चाँहि कानुन मान्नु पर्दैन र?’
डिभिजन वन कार्यालयले सेक्टर वन कार्यालय सितापुको घेरावेरा, पोल र नर्सरी निर्माणका लागि भन्दै सप्तकोशी नगरपालिका ५ स्थित गंगाजली खोलाबाट बालुवा निकाल्न अुनमति दिएपछि विरोध गर्नु परेको स्थानीयले वताए। ‘कानुन सवैलाई वरावर लाग्नुपर्छ’ स्थानीय जोनी कुमार माझिले भने–‘कसैलाई रोक्ने, कसैले चाहि जसो गरेपनि हुने पनि कानुन हुन्छ?
सर्वसाधारणले १/२ ट्याक्टर बालुवा निकासीका लागि अनुमति माग्दा समेत वन कार्यालयले अवरोध गर्दै आएको स्थानीयले गुनासो गरेका छन्।
वन कार्यालयको अवरोधले विकास निर्माण प्रभावित : मेयर गौतम
वन कार्यालयको अवरोधका कारण विकास निर्माणका काम समेत प्रभावित भएको मेयर गौतमले बताए। वन ऐन र नियमावलीका प्रावधान देखाएर वालुवा/गिट्टी निकासीमा रोक लगाउँदा नगरसभाले पारित गरेका काम समेत रोकीएको उनको गुनासो छ।
वन कार्यालयकै अवरोधका कारण वडास्तरका भौतिक पुर्वाधार, वाटो, खानेपानी लगायतका कुनै पनि काम अघि वढाउन नसकिएको उनको गुनासो छ। ‘हामीले पटक–पटक यस विषयमा डिभिजन वन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा कुरा राख्यौ’ उनले भने, ‘तर, हाम्रो कुराको सुनुवाई नै भएन। विकल्प नभएपछि आफै चुप लागेर बस्नु परेको छ।’
विकास निर्माणमा अवरोध छैन : वन कार्यालय
डिभिजन वन कार्यालय सप्तरीका प्रमुख धिरेन्द्र प्रसाद सिंहले पनि स्थानीयले बालुवा निकासीमा अवरोध गरेको स्विकारे। स्थानीयको अवरोधपछि अन्यत्रैबाट वालुवा/माटो ल्याइएको उनको भनाई छ। तर, आरोप लगाए जस्तो वन कार्यालयले विकास निर्माणका काममा अवरोध नगरेको उनले स्पष्ट पारे।
राष्ट्रिय वन क्षेत्रवाट बालुवा–गिट्टी तस्करी गरेको आरोप लागेका सप्तकोशी-१ का वडाध्यक्ष नारायण आचार्यको ईसारामा वनको काममा स्थानीयले अवरोध गरेको उनको आरोप छ। आचार्य र उनका छोरा सुशीलका नाममा वन कार्यालयले पक्राउ पुर्जी जारी गरेको र सोहि प्रतिसोध साँध्न सर्वसाधारण उचालेको उनले आरोप लगाए।
सप्तकोसी-१ को अमाहा खोलाबाट गैरकानुनी रुपमा बालुवा–गिट्टी उत्खनन तथा ओसारपसार गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएका आचार्य वावुछोरा गत पुस ४ गतेदेखि फरारको सूचीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।