बनियानी- झापाको गौरादह नगरपालिकामा यसै वर्षदेखि कृषि क्याम्पस सञ्चालनमा आउने भएको छ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा गौरादह बहुमुखी क्याम्पस रहेको संरचनामा नै कृषि क्याम्पस सञ्चालनमा आउने भएको हो।
कृषि क्याम्पस सञ्चालनका लागि विश्वविद्यालयका कृषि शाखाका डिन केशव अधिकारी लगायतको उच्चस्तरीय टोलीले गौरादह बहुमुखी क्याम्पस र यसको संरचना अवलोकन गरेको गौरादह नगरपालिका–१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिए।
विश्वविद्यालयको टोलीले यसै वर्षदेखि कृषि क्याम्पस सञ्चालन गर्ने गरी पहिलो वर्ष ५० जना विद्यार्थी भर्ना लिने तयारीसहित आवश्यक प्रक्रिया अघि बढाएको छ। गौरादहमा कृषि क्याम्पस सञ्चालनका लागि सरकारले रु तीन करोड बजेट विनियोजन गरेको र रु एक करोड विश्वविद्यालयको कृषि शाखा मातहतमा आएको वडाध्यक्ष भण्डारीले बताए।
कृषि क्याम्पस सञ्चालन हुने भएपछि स्थानीय किसान र विद्यार्थी उत्साहित भएका छन्। यहाँ कृषिका लागि प्रचुर सम्भावना भए पनि औपचारिक अध्ययन गर्ने शैक्षिक संस्था नहुँदा दक्ष जनशक्ति उत्पादन हुन सकेको छैन। कृषि क्याम्पस सञ्चालनमा आएपछि गौरादह कृषि क्षेत्रको अध्ययन र अनुसन्धानका लागि उपयुक्त स्थान बन्ने विश्वास लिइएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।