काठमाडौं– विनाशकारी आँधी आउँदैछ भन्ने मौसम पूर्वानुमान नहुँदा नेपालले धेरै क्षति बेहोर्नुपरेको छ। तर, नेपालसँग सीमा जोडिएको भारतका कैयौं राज्यमा भने त्यहाँका मौसम विभागले सचेत गराएको पाइएको छ।
भारतको मौसम विज्ञान विभागले त्यस्तो चेतावनी पश्चिम बंगाल, बिहार लगायतका सीमापारिका भारतीय राज्यहरूका लागि जारी गरेको थियो। तर, नेपालको जल तथा मौसम पूर्वानुमान महाशाखाले भने यसको सुइँकोसम्म पाउन सकेन। जसका कारण बारा र पर्सामा हालसम्म २७ जनाले ज्यान गुमाइसकेका छन्।
महाशाखाले पूर्वी र मध्यभेगमा सामान्य बदली रहने आइतबार पूर्वानुमान गरेको थियो।
त्यतिका मान्छेको ज्यान लिएको त्यत्रो वेगको हावाहुरी आउँदैछ भन्ने पूर्व चेतावनी किन दिइएन? प्रश्न उठेको छ। सामाजिक सञ्चालहरुमा समेत विभागको पूर्वानुमानप्रति प्रश्न उठाइएको छ।
मौसमविद् भन्छन्- कम आँक्दा समस्या
मौसमविद्हरुले आँधी आउन सक्ने पूर्वानुमान भए पनि पर्याप्त प्रविधि र मोडल नहुँदा आँधीको बेगबारे ‘अन्डरस्टिमेट’ गरिएको बताए। बारा–पर्सामा आएको आँधीलाई दुर्लभ भन्दै मौसमविद्ले यो अनुसन्धानको विषय भएको टिप्पणीसमेत गरेका छन्।
‘यो हाम्रो नेपालका लागि दुर्लभ घटना हो र मौसमविद्हरुका लागि पनि अध्ययनको विषय हो,’ जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भने। उनले सधैंझैं सामान्य हावाहुरी आउने अनुमान गरेकाले सूचना जारी नगरेको बताए।
‘मध्य र पूर्वी भूभागमा पाँच–सात सय प्रतिसेकेन्डको गतिमा हावाहुरी आउँछ भन्ने पूर्वानुमान हामीले गरेका थियौं, तर यति शक्तिशाली होला भन्ने पूर्वानुमान थिएन,' उनको भनाइ छ।
अर्यालले प्रि-मनसुन सिजनमा मेघ गर्जनसहित पानी पर्नु र हुरी चल्नु सामान्य मानिने बताए।
'फेरि आउन सक्छ, सचेत बनौं'
राजेन्द्र श्रेष्ठ, मौसमविद् तथा पूर्वप्रमुख- मौसम पूर्वानुमान महाशाखा
यो हावाहुरी आउने मौसम हो, त्यसैले सचेत हुन जरुरी छ। यस्तो फेरि पनि आउन सक्छ। यसअघि पनि विभिन्न समयमा आएको थियो। तर, यस पटक मानव बस्तीमा पर्दा क्षति धेरै भएको हो।
यसअघि दशरथ रंगशालामा २०४४ फागुन २९ मा गेम हुँदै गर्दा यस्तै आँधी आएको थियो र त्यसले मानवीय क्षति पनि गराएको थियो। सूचना समयमै जारी गर्नुपर्ने थियो तर हाम्रो सूचनाको सिस्टम बिहान र बेलुका मात्र गर्ने चलन छ। यसमा हाम्रो कमजोरी भयो। सञ्चारमाध्यममा हामीले केही समयपहिले सूचना जारी गराउन सक्नुपर्थ्यो। मानव बस्तीमा पर्नुका साथै उक्त क्षेत्रको भौतिक संरचनासमेत कमजोर हुँदा क्षति धेरै भएको हो। अझै हामी ढुक्क हुन हुँदैन, यो फेरि पनि आउन सक्छ। नागरिकहरु आफै पनि सचेत रहनुपर्दछ।
गर्मी सुरु हुने मौसममा यस्ता आँधी आउने सम्भावना धेरै रहन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।