काठमाडौं— बारा र पर्सामा आइतबारको हावाहुरीबाट गम्भीर घाइते भएका ७ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ। उनीहरुको त्रिवि शिक्षण अस्पतालमा उपचार सुरु भएको हो।
उनीहरुलाई सिमरा एयरपोर्टबाट नेपाली सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइएको हो।
आइतबार साँझको हावाहुरीका कारण २७ जनाको मृत्यु भएको छ भने ६ सय १२ जना घाइते भएका थिए। घाइतेमध्ये गम्भीर अवस्थाका ७ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो।
नारायणी उपक्षेत्रिय अस्पतालका निमित्त सुपरेटेन्डेन डा अतुलेश चौरसियाका अनुसार नारायणीबाट ५, वीरगन्ज हेल्थ केयरबाट १ र सर्वोत्तम अस्पतालबाट १ गरी ७ जनालाई काठमाडौं पठाइएको हो।
घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पताल, नेसनल मेडिकल कलेज, वीरगञ्ज हेल्थ केयर लगायतका अस्पतालमा उपचार भइरहेको छ। ६ सय १२ जना घाइतेमध्ये ३ सय ४३ जना उपचारपछि घर फर्किएका छन्।
नारायणी उपक्षेत्रीय अस्पतालका एक कर्मचारीले अहिले पनि गाउँगाउँबाट घाइतेहरु अस्पताल आउने क्रम जारी रहेको जानकारी दिए।
उनले भने, ‘हिजो राति उद्धारका लागि प्रहरी र स्वास्थ्यकर्मी पुग्न नसकेका स्थानमा बिहानै चिकित्सकसहितको टोली गाउँमा पठाइएको छ।’
अस्पतालमा आउने घाइतेमध्ये धेरैलाई टाउकोमा चोट लागेको छ। घाइतेहरुको हात भाँचिएको, घरले च्यापेर, जस्ताले शरीरका विभिन्न अंग काटिएका अवस्थामा घाइते अस्पताल ल्याइएका छन्। सबै उमेर समूहका घाइते भए पनि धेरै संख्यामा बालबालिका र वृद्धवृद्धा प्रभावित भएको बताइएको छ।
नारायणी उपक्षेत्रीय अस्पतालले अहिले औषधि र रगतको अभाव नभएको जनाएको छ। रातिदेखि नै रक्तदान गर्ने व्यवस्था मिलाइएकोले रगत अभाव नभएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।