जनकपुर– प्रदेश २ को मन्त्रिपरिषद् बैठकले आइतबार साँझ हावाहुरीबाट मृत्यु हुनेको परिवारलाई ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ।
बिहान आकस्मिक बसेको बैठकले बारा, पर्सा लगायतका जिल्लामा भएको घटनाप्रति दुःख प्रकट गर्दै उक्त निर्णय गरेको हो।
हावाहुरीबाट हालसम्म २७ जनाभन्दा बढीको मृत्यु भएको छ। कलैया, वीरगञ्ज लगायतका अस्पतालहरूमा ५ सय भन्दा बढी घाइतेहरु उपचारत छन्।
घाइतेहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाहरूको बासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने क्याबिनेटको निर्णय छ।
निर्णयबारे जानकारी दिँदै मुख्यमन्त्री लालबाबु राउतले भने, ‘हामीले प्रत्येक मृतकलाई तीन लाखका दरले तत्कालीन राहत दिने भएका छौं। उपचारमा जति खर्च हुन्छ, त्यो प्रदेश सरकारले व्यहोर्ने छ।’
प्रदेशसरकारले आइताबार रातिदेखि नै घाइतेहरुको उद्धार गर्न प्रभावित क्षेत्रमा आफ्नो मातहतको उद्धार टोली पठाइ सकेको उनले जानकारी दिए।
यता बैठक पश्चात् सबै मन्त्रीहरु सो क्षेत्रमा जाने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।