उद्धारपछि अस्पताल पुर्याइएका घाइते। तस्बिर सौजन्य : जीतेन्द्र साह
वीरगञ्ज- आइतबार साँझ एक्कासी आएको हावाहुरीका कारण पर्सा र बारामा मृत्यु हुनेको संख्या २५ पुगेको छ।
बारा र पर्साका विभिन्न स्थानमा आएको हावाहुरीका कारण २५ जनाको मृत्यु भएको र ४ सयभन्दा बढी घाइते भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गरेका छन्।

मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन भने घाइतेको उद्धार भइरहेको बताइएको छ। उनीहरुलाई उपचारका लागि विभिन्न स्थानका अस्पताल पुर्याउने काम भइरहेको बताइएको छ।
ग्रामीण क्षेत्रमा आएको हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको हो।
हुरीका कारण आपत्मा परेकाहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले डरलाग्दो ऑधि/हुरीबाट धनजनको अकल्पनीय क्षति भएको भन्दै दुःख व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल ट्विटरमा उनले भनेका छन्, 'यस आकस्मिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दछु। उद्दारमा सुरक्षाकर्मीहरू परिचालित भईसकेका छन्।'

उद्धारमा गंभीर हुन र घाईतेको उपचारमा कुनै कमी आउन नदिन समेत प्रधानमन्त्रीले निर्देशन गरेको ट्विटमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।