वीरगञ्ज- आइतबार साँझ एक्कासी आएको हावाहुरीका कारण पर्सा र बारामा चार जनाको मृत्यु भएको छ।
पर्साको ग्रामीण इलाका हरबडियामा एकजनाको मृत्यु भएको छ भने बाराका विभिन्न स्थानमा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन भने पर्साका विभिन्न स्थानमा १२० जना घाइते भएको र उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ग्रामीण क्षेत्रमा आएको हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको छ।
हुरीका कारण आपत्मा परेकाहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले डरलाग्दो ऑधि/हुरीबाट धनजनको अकल्पनीय क्षति भएको भन्दै दुःख व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल ट्विटरमा उनले भनेका छन्, 'यस आकस्मिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दछु। उद्दारमा सुरक्षाकर्मीहरू परिचालित भईसकेका छन्।'
उद्धारमा गंभीर हुन र घाईतेको उपचारमा कुनै कमी आउन नदिन समेत प्रधानमन्त्रीले निर्देशन गरेको ट्विटमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।