निर्मला घिमिरे/काठमाडौं- देशमा भनेजस्तो काम नपाइने, काम अनुसार कमाई नहुने र परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण दोलखाकी प्रजिता खड्काले वैदेशिक रोजगारीमा जाने सोच बनाइन्। उनलाई साथीहरुले कुबेत जाँदा काम र कमाई राम्रो हुने सुनाए।
रोजगारीका लागि कुबेत जान ऋण खोजेर घरबाट काठमाडौं निस्किएकी प्रजिता महाराजगञ्जस्थित तीनजुरे इम्प्लोइमेन्ट सर्भिसेसमा पुगिन्। म्यानपावर सञ्चालक राजकुमार राईले प्रजितालाई कुबेतको कुनै कम्पनीमा क्लिनर कामका लागि माग आएको र कमाई पनि मासिक ९० केडी (नेपाली रुपैयाँ ३१ हजारभन्दा बढी) सहित ओभरटाइम सुविधा हुने बताए।
आर्थिक अवस्था कमजोर रहेकाले काम र कमाई राम्रो हुने भएपछि प्रजिता कुबेत जान तयार भइन्।
प्रजिता गत पुस १७ गते कुबेतका लागि उडिन्। तिनजुरे म्यानपावरमार्फत कुबेत जाने प्रजितासँगै अन्य ६ जना महिला श्रमिकहरु थिए। उनीहरु सबैलाई म्यानपावर सञ्चालक राजकुमारले कम्पनीको काम भनेर श्रम स्वीकृति दिलाएका थिए।
श्रम सम्झौता पत्रमा प्रजिताका लागि काम गर्ने कम्पनीको नाम क्लिन वान लन्ड्री उल्लेख गरिएको छ।
‘सम्झौतापत्रमा क्लिनर काम भनेपनि घरायसी कामका लागि नभई कुबेतका कुनै कम्पनी वा सुपरमार्केट, हस्पिटललगायत ठाउँमा काम गर्न मिल्ने भन्दै म्यानपावरले पठाएको थियो,’ विभागमा उजुरी गर्न पुगेकी प्रजिताले भनिन्।
कुबेतमा नेपाली श्रमिकको मोलमोलाई
प्रजितासँगै ६ जना अन्य महिला श्रमिकहरुलाई कुबेत पुर्याइयो। त्यहाँ उनीहरुलाई बन्द कोठामा राखियो र मोलमोलाई गर्न थालियो। कुबेतका नागरिकहरु आएर उनीहरुलाई ८ सय केडीमा किनेर नेपालबाट ल्याएको भन्दै घरको काम गर्न पुर्याए।
एक युवतीले भनिन्, ‘हामीलाई त ८ सय केडीमा बेचिएको रहेछ। त्यहाँका स्थानीयबासीले हामीले तिमीहरुलाई किनेको हो। ८ सय केडी तिर, अनि नेपाल फर्क भनेर भन्थे।’
प्रजिता भन्छिन्, ‘हामीलाई घर सफा गर्ने, पोछा लगाउने, ट्वाइलेट सफा गर्ने, कपडा मिलाउने, भाडा माझ्ने काम पनि दैनिक १८ घण्टा लगाइयो। काम गरेपछि पनि खान, बस्न र तलब पनि दिइएन। हामीलाई पहिले नै बेचिसकिएको रहेछ।’
यौन शोषणको शिकार
‘एकातिर जिन्दगी बर्बाद भयो। अर्कातिर पैसा पनि सकियो, ऋण लागेको छ,' प्रजिता भन्छिन्, 'घरमा आमा एक्लै हुनुहुन्छ कसरी यो पीडा सुनाउने, कसरी मुख देखाउने।’
आफूमाथि शारीरिक यौन शोषण भएपछि प्रजितालाई मानसिक रुपमा समेत असर पर्यो।
उनीसँगै कुबेत पुगेर फर्किएकी एक युवतीले भनिन्, ‘अब विष खाएर आत्महत्या गर्छु भन्ने अवस्थासम्म प्रजिता पुगेकी थिइ। हामीले धेरै सम्झाएर ल्यायौँ।’
‘हामीलाई एउटा काम भनेर अर्को काममा पुर्याउने म्यानपावरलाई कारबाही र हामीलाई क्षतिपूर्ति हुन्छ। हामी अब नेपालमा नै केही गर्नुपर्छ। हरेश नखाऔँ भनेर हामीले धेरै सम्झाएका छौँ,’ ती युवतीले थपिन्।
एक घन्टा एअरपोर्टमा रोकियो
सरकारले घरेलु कामदारका रुपमा महिला कामदार जान रोक लगाएसँगै म्यानपावर कम्पनीले नयाँनयाँ तरिका अपनाएर घरेलु कामदारका रुपमा पुर्याउने गरेका पुर्याउने गरेको खुलेको छ। प्रजितासहित ६ जना महिला श्रमिकलाई पनि त्यसै गरी तिनजुरे म्यानपावर कम्पनीले कुबेत घरेलु कामदारका रुपमा पुर्याएको थियो।
नयाँ तरिकाबाट कम्पनीको नाम बेचेर सेटिङ मिलाएर एअरपोर्टसम्म पुर्याएपछि पनि ति ७ जना महिला श्रमिकहरुले विमानस्थल अध्यागमनले १ घन्टा रोकेको उनीहरु बताउँछन्। एअरपोर्टमै सेटिङ मिलाएर म्यानपावर सञ्चालकले कुबेत उडाएको उनीहरुको भनाइ छ।
म्यानपावरको ज्यान मार्ने धम्की
म्यानपावरले उनीहरुलाई आफूहरु अलपत्र परेको कुरा बाहिर कसैलाई भनेमा ज्यानमार्ने भन्दै धम्की समेत दिएको पीडितहरुले बताएका छन्। आफू कानुन भन्दापनि ठूलो भएको र कसैले केही गर्न नसक्ने भन्दै पीडितहरुलाई व्यवसायीहरुले धम्की दिएका थिए।
पीडितहरु अलपत्र परेपछि धेरै रोइकराई गरेपछि कुबेतबाट म्यानपावरले २६ मार्चमा नेपाल त फर्कायो। तर उनीहरुलाई बनावटी कागज बनाएर हस्ताक्षर गर्न लगाइयो।
काम गर्न नसकेर कुबेतबाट फिर्ता ल्याइएको भन्ने कागजमा उनीहरूलाई हस्ताक्षर गराइएको बताइएको छ। तर आफूहरुलाई झुक्याएर त्यो काजगमा हस्ताक्षर गराइएको पीडितले बताए।
क्षतिपूर्ति दिलाउन हामी सक्दो पहल गर्छौं : विभाग
सम्झौता बमोजिम काम र कमाइ नभएको भन्दै पीडितले शुक्रबार विभागमा उजुरी दिएका छन्। घरेलु कामदारका रुपमा विदेश पठाउने म्यानपावरलाई कानुनी कारबाही गरी क्षतिपूर्ति दिलाइने वैदेशिक रोजगार विभागले बताएको छ।
विभागका निर्देशक हरि ज्ञवालीले भने, 'हामी कानुनी प्रकृयामा गइसकेका छौँ अब दुबै पक्षका कुराहरु सुनेर पीडितलाई म्यानपावरको धरौटी रकम कटौति गरेरै भएपनि क्षतिपूर्ति दिलाउछौँ।'
म्यानपावरले प्रतिव्यक्ति १ लाखभन्दा बढी लियो तर प्रमाण दिएन : पीडित
कुबेत पठाउँदा म्यानपावर कम्पनीले प्रति महिला कामदार १ लाखदेखि १ लाख २० हजारसम्म रकम असुल गरेको छ। तर रकम लिएको कुनैपनि प्रमाण भने उनीहरुलाई दिएको छैन।
पीडितहरुलाई क्षतिपूर्ति दिन समेत म्यानपावरले आलटाल गरिरहेको पीडित पक्षको आरोप छ। नेपाल लाइभले म्यानपावर सञ्चालकसँग सम्पर्क गर्न खोज्दा सञ्चालक भने सम्पर्कमा आउन सकेका छैनन्।
समाचारमा आएका प्रजिता र इन्दिरा त प्रतिनिधि पात्र मात्र हुन्। म्यानपावर कम्पनीमार्फत् विदेशका कम्पनीमा काम लगाइदिने भन्दै घरेलु कामदारका रुपमा लगिएका उनीहरुजस्ता थुप्रै महिला श्रमिक छन्। उनीहरुलाई म्यानपावरले राम्रो काम र कमाइको प्रलोभन देखाएर साउदी, कतार, ओमान, बहराइन, कुबेतलगायत खाडी मुलुकमा घरेलु कामदारका रुपमा पुर्याउने गरेको खुलेको छ।
(समाचारमा उल्लेख गरिएकी प्रजिताको नाम परिवर्तन गरिएको छ।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।