दिनेश शर्मा/ राजविराज– लहलहैमा घरबाट भागेर भारत पुगी बेपत्ता भएका सप्तरीका एक बालकको उद्धार गरिएको छ। भारतीय प्रहरी र बाल कल्याण समिति, दरभंगाको सहयोगमा बालकलाई सप्तरी ल्याईएको हो।
सप्तरीको राजगढ गाउँपालिका–६ निवासी रामअवतार खंगका ११ वर्षीय छोरा राजुकुमार गत चैत १ गते घरबाट बेपत्ता भएका थिए। ‘दिदीको घर जान्छु’ भन्दै हिडेका राजु साँझसम्म पनि नफर्किएपछि खोजतलास सुरु भएको थियो।
‘छोरो घरबाटै बेपत्ता भएको विषयमा प्रहरीलाई पनि जानकारी गरायौं,’ रामअवतारले भने, ‘आफन्त सबै लागेर खोज्दा पनि फेला पार्न सकिएन।’
यसैबिच, स्थानीय बालकल्याण समितिले नेपाल प्रहरी मार्फत बालक दरभंगामा रहेको जानकारी पठाएपछि उनको उद्धार गरिएको हो।
जिल्ला प्रशासन कार्यालयले जिल्ला बालकल्याण समिति सप्तरीका सदस्य वैद्यनाथ झाको अगुवाईमा आईतबार बालकलाई नेपाल ल्याइएको छ।
सम्पूर्ण प्रकृया पुरा गरी वालकलाई परिवारको जिम्मा लगाईएको सिडिओ सुरेन्द्र पौडेलले बताए। घरबाट भोगेर दरभंगा पुगेका बालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिई बाल कल्याण समितिमा राखेको र उनैको बयानका आधारमा राजुको उद्वार सम्भव भएको पौडेलले जानकारी दिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।