चितवन – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दिएको चितवन क्षेत्र नं ३ मा आठ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । दाहालसहित १० दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
दाहाल वाम गठबन्धनका तर्फबाट उम्मेदवार छन् भने लोकतान्त्रिक गठबन्धनबाट राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डे मुख्य प्रतिष्पर्धामा छन्। पाण्डे वर्तमान सरकारका वन तथा भूसंरक्षण मन्त्रीसमेत हुन्। उनी दाहाल नेतृत्वको सरकारमा भूमिसुधार तथा व्यवस्थामन्त्री थिए।
त्यस्तै तत्कालीन माओवादी कार्यकर्ता टंकनाथ रेग्मी देशभक्त जनगणतान्त्रिक मोर्चाबाट उम्मेदवार छन्। यसैगरी संघीय समाजवादी फोरम नेपालबाट अजय ठाकुर हजाम, राष्ट्रिय जनमोर्चाबाट उमादेवी शर्मा, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बाट कृष्णबहादुर तामाङ, नेकपा मालेबाट डम्बर श्रेष्ठ, नेपाल दलित पार्टीबाट दिलबहादुर विश्वकर्मा, विवेकशील साझा पार्टीबाट शरदराज पाठक र नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवालले सो क्षेत्रमा मनोनयन दर्ता गराएका छन्।
सोही क्षेत्रमा स्वतन्त्र टंकप्रसाद बास्तोला, नन्दराज आचार्य, प्रवेश अधिकारी, भगवती प्रसाईं, भरत बोहरा, विजयराज घिमिरे, सुनिलकुमार क्षेत्री र हरिप्रसाद दाहालले उम्मेदवारी दिएका छन्। सोही क्षेत्रको प्रदेशसभातर्फ क र खमा आठ – आठ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ १५ जनाले उम्मेदवारी दिएका छन् । सोमध्ये १२ जना विभिन्न राजनीतिक दलका छन् भने तीन जना स्वतन्त्र उम्मेदवार हुन् । सो क्षेत्रबाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट शिक्षा राज्यमन्त्रीसमेत रहनुभएका काँग्रेसका शेषनाथ अधिकारी र वाम गठबन्धनबाट एमालेका कृष्णभक्त पोखरेलले उम्मेदवारी दिनुभएको छ । सोही क्षेत्रको प्रदेश कमा नौ दलका उम्मेदवार तथा खमा १० दल र एक स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।
क्षेत्र नं १ मा स्वतन्त्र चार र ११ दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । सो क्षेत्रबाट वाम गठबन्धनबाट पूर्वअर्थमन्त्री एवं एमाले नेता पाण्डे र लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका राजेन्द्र बुर्लाकोटीले उम्मेदवारी दर्ता गरेका छन्। सोही क्षेत्रको क र खमा दश दश दलका उम्मेदवारले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा तीन लाख ५४ हजार ३६ मतदाता छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।